



बेलका । उदयपुरमा गुडिरहेको स्कुल बसबाट खस्दा एक बालकको मृत्यु भएको छ । जिल्लाको बेलका नगरपालिका–४ हरिपुर शिसवारीस्थित भित्री सडक खण्डमा आज दिउँसो करिब ४ः४० बजे जहडाबाट हरिपुरतर्फ जाँदै गरेको को १ ख ३५१६ नम्बरको बेलका बोर्डिङ स्कुलको बसबाट एक विद्यार्थी खसेका हुन् ।
दुर्घटनामा सोही विद्यालयमा अध्ययनरत बेलका नगरपालिका निवासी कृष्ण बस्नेतका ९ वर्षीय छोरा सफल बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको छ।
बस चालक बेलका नगरपालिका–८ सिसौली निवासी ३४ वर्षीय प्रेम तामाङलाई नियन्त्रणमा लिई प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Facebook Comments