



नेपालटार । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ कटारी चोकमा बुधबार बिहान मोटरसाईकल र टिफर एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । करिब १०ः४५ बजे गाईघाटबाट कटारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख १४०९ नम्बरको टिपरले ठक्कर दिँदा दुर्घटनामा परी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक खोटाङ बराहपोखरी गाउँपालिका–५ निवासी अन्दाजी ३० वर्षीय भुपाल राई गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएपनि उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
दुर्घटनामा संलग्न दुवै सवारी साधन अस्थायी प्रहरी पोष्ट नेपालटारको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । टिपर चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ।