



कटारी । उदयपुरमा सोमबार साँझ वर्षासँगै आएको हावाहुरीका कारण दुई जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका–५ का ६४ वर्षीय बीरेन्द्र चौधरी रहेका छन् । स्थानीय तिनकुने चौक नजिकै टिनको छानो भएको घरमाथि सुकेको सालको रुख ढलेर किच्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीले जनाएअनुसार घाइते हुनेमा मृतककी ५ वर्षीया नातिनी बिनिषा चौधरी, कटारी–५ आहालेडाँडाका २७ वर्षीय युवराज कार्की, बलाहाका ४६ वर्षीय लिलाबहादुर दनुवार, ४६ वर्षीय प्रेमचन्द्र दनुवार र कटारी–१२ बसेरीकी १६ वर्षीया अस्मिता परियार रहेका छन् । उनीहरूको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, कटारी नगरपालिका–८ थलियारटारकी ४६ वर्षीया मिनामाया तामाङको पनि मृत्यु भएको छ । वर्षापछि घर नजिकैको गोठमा खसीबाख्रा सार्ने क्रममा कटमिरोको रुखको हाँगा भाँचिएर लाग्दा गम्भीर घाइते भएकी तामाङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हावाहुरीका कारण जिल्लाका अन्य स्थानमा पनि क्षतिको विवरण सङ्कलन भइरहेको जनाइएको छ ।