पत्रकार अर्जुन आचार्यमाथि आक्रमण गर्ने मुख्य अभियुक्त पक्राउ

विराटनगर । झापा क्षेत्र नम्बर ५ मा चुनावी गतिविधिको समाचार संकलन गरिरहेका पत्रकार अर्जुन आचार्यमाथि आक्रमण गर्ने मुख्य अभियुक्त युवराज पाठक पक्राउ परेका छन् । उनि घटना भएको १५ दिनपछि पक्राउ परेका हुन् । लामो समयसम्म पक्राउ नपरेको भन्दै प्रहरी प्रशासनको आलोचना भइरहेका बेला प्रहरीले उनलाई शनिबार बिहान नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पाठक झापाको शिवसताक्षी नगरपालिका–४ स्थित बुलुचोकमा आफन्तको घरमा लुकेर बसेको अवस्थामा फेला परेका थिए । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनलाई बिहानै नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि दमक ल्याएको जनाएको छ । उक्त स्थान घटना भएको झिलझिले चोकबाट करिब १० किलोमिटर दूरीमा पर्छ ।

गत फागुन १४ गते कमल गाउँपालिका–६ को जीवनचोकमा समाचार संकलन गरिरहेका आचार्यमाथि आक्रमण भएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा भइरहेको घरदैलो अभियानको दृश्य खिचिरहेका बेला एमाले निकट ‘भोलेन्टियर्स फोर्स’ का सदस्यहरूले आचार्यमाथि कुटपिट गरेको आरोप छ । आक्रमणका क्रममा उनलाई मुक्का तथा बुट प्रहार गरी घाइते बनाइएको पीडितले बताएका छन् ।

आचार्यका अनुसार घटनाका बेला उनलाई जबर्जस्ती सेतो स्कोर्पियो गाडीमा चढाएर अपहरण गर्ने प्रयाससमेत गरिएको थियो । साथै उनको मोबाइल फोन र चस्मा समेत खोसिएको र थप धम्कीसमेत दिइएको दाबी गरिएको छ । आचार्य रातोपाटी डटकमका कोशी प्रदेश प्रमुख तथा हाम्रोमत डटकमका कार्यकारी सम्पादक हुन् ।

घटनापछि आचार्यले पाठकसहित पाँच जनाविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा अभद्र व्यवहारसम्बन्धी मुद्दामा किटानी जाहेरी दिएका थिए । तर आरोपीहरू लामो समयसम्म पक्राउ नपरेपछि नेपाल पत्रकार महासंघ कोशी प्रदेशले प्रदेश प्रहरी कार्यालयमा ध्यानाकर्षण गराएको थियो ।

प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद घिमिरेलाई भेटेर घटनामा संलग्नलाई कारबाही गर्न माग गरिएको थियो । त्यसपछि प्रहरीले अनुसन्धान तीव्र बनाएर मुख्य आरोपीलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको बताएको छ । उता पत्रकारसम्बद्ध संघसंस्थाहरूले भने प्रेस स्वतन्त्रतामाथि आक्रमण भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गर्दै आएका छन् । साथै पीडित पत्रकारले लुटिएका सामान फिर्ता र क्षतिपूर्तिको मागसमेत गरेका छन् ।

Facebook Comments