निर्वाचनमा पराजित भएपनि उदयपुर–१ मा ५० हजार युवालाई रोजगारी सिर्जना गरिन्छः नेकपा नेता बलदेव चौधरी

उदयपुर । प्रतिनिधिसभा निर्वाचनमा पराजित भए पनि उदयपुर निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार बलदेव चौधरीले युवालाई रोजगारी सिर्जना गर्ने अभियानलाई निरन्तरता दिने बताएका छन् । निर्वाचनपछि जारी गरेको धन्यवाद ज्ञापनमार्फत चौधरीले जिल्लामा ५० हजार युवालाई रोजगारी सिर्जना गर्ने योजना पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले ऊर्जा, कृषि र पर्यटन क्षेत्रको विकासमार्फत युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्यसहित ऊर्जा, कृषि र पर्यटन (EAT) अभियान सञ्चालन गर्ने बताएका छन् । चौधरीले निर्वाचनमा आफूलाई विश्वास गरी मत दिने मतदाता, शुभेच्छुक, पार्टीका नेता–कार्यकर्ता तथा चुनावी अभियानमा प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनताले देखाएको विश्वास र समर्थनलाई आफूले राजनीतिक जीवनको महत्वपूर्ण सम्पत्तिका रूपमा लिएको उनले बताएका छन् । लोकतन्त्रमा हार–जीत स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उनले जनताले दिएको निर्णयलाई पूर्ण सम्मानका साथ स्वीकार गरेको बताएका छन् ।

चौधरीले निर्वाचनमा विजयी उम्मेदवारलाई बधाई दिँदै जनताको अपेक्षा अनुसार क्षेत्रको विकास, समृद्धि र जनसेवामा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । आफू पराजित भए पनि जनताका मुद्दा र आवश्यकताबाट पछि नहट्ने स्पष्ट पार्दै उनले घरदैलोका क्रममा जनतासँग गरेको वाचा पूरा गर्न निरन्तर सक्रिय रहने बताएका छन् ।

उनले आगामी दिनमा पनि उदयपुरको विकास, न्याय र जनसेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाउँदै उद्योग, व्यापार र पर्यटनको प्रवर्द्धनमार्फत युवालाई रोजगारी उपलब्ध गराउने अभियानमा सबैलाई साथ दिन आग्रह गरेका छन् । चौधरीले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, पत्रकार तथा नागरिक समाजप्रति समेत धन्यवाद व्यक्त गरेका छन् ।
Facebook Comments