



उदयपुर । आफ्नो कार्यकाल सकिनु अघि नै प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिएका कोशी प्रदेशका अधिकांश नेताहरू पराजित भएका छन् । पद छाडेर निर्वाचन लडेका मध्ये सुनसरी–१ बाट उम्मेदवार बनेका हर्कराज राई (हर्क साम्पाङ) बाहेक अरू सबै उम्मेदवार हार व्यहोर्न बाध्य भएका हुन् ।
धरान उपमहानगरपालिकाका प्रमुख पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका हर्क साम्पाङले सुनसरी–१ बाट ३५ हजार ७४१ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन् भने नेकपा एमालेका टिकाराम लिम्बू ६ हजार ४६३ मतसहित तेस्रो स्थानमा रहे ।
त्यही क्षेत्रमा धरान–१७ का वडाध्यक्ष पदबाट राजीनामा दिएर उम्मेदवारी दिएका सूर्यबहादुर भट्टराई (मनोज) ले भने ६ हजार १८५ मत मात्रै प्राप्त गर्दै तेस्रो स्थानमै सीमित भए । यस्तै प्रदेशसभा सदस्य पद त्यागेर झापा–४ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार बनेका भक्ति प्रसाद सिटौलाले पनि अपेक्षित मत ल्याउन सकेनन् । उनले २ हजार ८० मत मात्रै प्राप्त गर्दै जमानतसमेत जोगाउन सकेनन् । सो क्षेत्रमा रास्वपाका शम्भुप्रसाद ढकाल ४३ हजार ६३१ मतसहित विजयी बने ।
स्थानीय तहका पदाधिकारीहरू पनि प्रतिनिधिसभा निर्वाचनमा सफल हुन सकेनन् । मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिपकुमार अग्रवालले एमालेबाट मोरङ–२ मा उम्मेदवारी दिएका थिए । उनले १५ हजार ६२४ मत ल्याएर दोस्रो स्थान हासिल गरे पनि रास्वपाका कृष्णकुमार कार्की ४० हजार ९२४ मतसहित विजयी बने ।
त्यस्तै इलामको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई पनि प्रतिनिधिसभा निर्वाचनमा सफल हुन सकेनन् । इलाम–१ बाट उम्मेदवार बनेका उनी मत परिणाममा पछाडि पर्दै पाँचौं स्थानमा पुगेका छन् । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले भने दोस्रो स्थान हासिल गरे । सोलुखुम्बुमा नेपाली कांग्रेसका प्रकाश सिंह कार्की १३ हजार १६६ मतसहित विजयी हुँदा राईले ९ हजार ४१४ मत प्राप्त गरे ।
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष पद छाडेर स्वतन्त्र उम्मेदवार बनेका मेजर राईले भने अत्यन्त न्यून मत प्राप्त गरे । उदयपुर–२ मा उनले जम्मा ९० मत ल्याउँदै ११औं स्थानमा सीमित रहे । सो क्षेत्रमा रास्वपाका सूर्यबहादुर तामाङ १४ हजार २ मतसहित विजयी बनेका छन् । ओखलढुंगाको लिखु पिके गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले पनि एमालेबाट उम्मेदवारी दिएकी थिइन् । उनले चौथो स्थान हासिल गरे पनि जित निकाल्न सकिनन् । सो क्षेत्रमा रास्वपाका विश्वराज पोखरेल १३ हजार ९५३ मतसहित निर्वाचित भएका छन् । यसरी कोशी प्रदेशमा पद त्यागेर प्रतिनिधिसभा निर्वाचनमा होमिएका अधिकांश नेताहरू मतदाताबाट अस्वीकृत भएका छन् भने धरानका पूर्वमेयर हर्क साम्पाङ मात्र विजयी बन्न सफल भएका छन् ।