जेनजी आन्दोलनबारे कार्की आयोगको प्रतिवेदन सरकारलाई बुझाइयो

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरिएको आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरेको हो । आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार जाँचबुझपछि तयार पारिएको विस्तृत प्रतिवेदन सरकारलाई बुझाइएको हो ।

सरकारले गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा उत्पन्न घटनाबारे अध्ययन गर्न असोज ५ गते आयोग गठन गरेको थियो । आयोगले विशेष गरी काठमाडौँको बानेश्वर क्षेत्रमा भएको प्रदर्शन र त्यस क्रममा युवाहरूको ज्यान जाने घटनाबारे विस्तृत अनुसन्धान गरेको जनाएको छ ।

छानबिनका क्रममा आयोगले आन्दोलनका प्रत्यक्षदर्शी, सरकारी अधिकारी तथा सुरक्षा निकायका प्रतिनिधि गरी १५० भन्दा बढी व्यक्तिसँग बयान लिएको थियो । प्राप्त तथ्य, प्रमाण र बयानका आधारमा तयार पारिएको प्रतिवेदन अहिले सरकारसमक्ष पेश गरिएको आयोगले जनाएको छ ।

उक्त आन्दोलनको समयमा देशमा केपी शर्मा ओली नेतृत्वको सरकार रहेको थियो। त्यसबेला गृह मन्त्रालयको जिम्मेवारी रमेश लेखकले सम्हालेका थिए भने गृह सचिवका रूपमा गोकर्णमणि दुवाडी कार्यरत थिए ।

त्यस्तै नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङ तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पनि उक्त घटनाक्रमका समयमा जिम्मेवारीमा रहेका अधिकारी थिए । अब आयोगले बुझाएको प्रतिवेदनको अध्ययनपछि सरकारले आवश्यक निर्णय लिने अपेक्षा गरिएको छ ।

Facebook Comments