



त्रियुगा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत उदयपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पारशमणि गेलाल विजयी भएका छन् ।
निर्वाचन कार्यालयका अनुसार गेलालले ३० हजार ५९० मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका राजेशकुमार राईले ११ हजार ६०६ मत प्राप्त गरेका छन् ।
यससँगै गेलालले १८ हजार ९८४ मतान्तरसहित स्पष्ट जित दर्ता गरेका हुन् । यस निर्वाचन क्षेत्रमा अन्य प्रमुख दलका उम्मेदवारहरूले पनि उल्लेख्य मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार बलदेव चौधरीले १० हजार २१ मत, नेपाली कांग्रेसका विदुरबाबु बस्नेतले ९ हजार ६७५ मत तथा नेकपा एमालेका दुर्गाकुमार थापाले ९ हजार २०६ मत प्राप्त गरेका छन् ।
व्यवसायिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका गेलालले पहिलो पटकको चुनावमै विजय हासिल गर्दै प्रतिनिधिसभामा स्थान बनाउन सफल भएका छन् । चौदण्डीगढी नगरपालिका–९ ज्यामिरे निवासी गेलालको जन्म २०४२ साल वैशाखमा भएको हो। उनले स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन् ।
शिक्षा, सामाजिक अभियान तथा निजी क्षेत्रको व्यवसायिक गतिविधिमा सक्रिय रहँदै आएका गेलाल पछिल्लो समय राजनीतिक गतिविधिमा पनि सक्रिय थिए ।
रास्वपाभित्र उनले केन्द्रीय उद्योग तथा वाणिज्य विभागका सचिव तथा केन्द्रीय निर्वाचन रणनीति कार्यदलका सदस्यका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । यसपटकको निर्वाचनमा प्राप्त जितसँगै उदयपुर–१ मा रास्वपाले महत्वपूर्ण सफलता हासिल गरेको छ ।