



उदयपुर । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले काँग्रेसलाई परिवर्तनको संवाहक र इतिहासदेखि लोकतन्त्रको पक्षमा लड्दै आएको पार्टी भएको बताएका छन् । सोमबार उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विभिन्न कालखण्डमा मुलुकको राजनीतिक रूपान्तरणमा काँग्रेसले नेतृत्वदायी भूमिका खेलेको दाबी गरे ।
उनले २००७ सालको राणाविरोधी आन्दोलनमार्फत १०४ वर्षे जहानियाँ शासन अन्त्य गर्न काँग्रेसले अग्रणी भूमिका खेलेको स्मरण गराए । त्यस्तै ३० वर्षे पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन र २०४६ सालको जनआन्दोलन हुँदै ०६२/०६३ को ऐतिहासिक आन्दोलनसम्म लोकतन्त्र, गणतन्त्र र संघीयता स्थापनामा पनि काँग्रेसको मुख्य योगदान रहेको उनको भनाइ थियो ।
शर्माले काँग्रेस समयअनुसार आफूलाई रूपान्तरण गर्दै अघि बढिरहेको उल्लेख गर्दै पार्टीभित्र समेत विधि, पद्धति र आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाइएको बताए । विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन भएको उदाहरण दिँदै उनले काँग्रेस लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने पार्टी भएको जिकिर गरे ।
भदौ २३ गते भएको जेनजेड पुस्ताको आन्दोलनप्रति संकेत गर्दै उनले नयाँ पुस्ताको आवाज सुन्ने र उनीहरूको अपेक्षा तथा सुझावलाई पार्टीको नीति र कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गरे । “काँग्रेस हिजोको जस्तो मात्र होइन, आजको बद्लिएको पार्टी हो,” उनले भने, “अबको काँग्रेसले युवा पुस्ताको भावना अनुसार योजना निर्माण गरेर अघि बढ्छ ।”
आगामी निर्वाचनमा परिवर्तनको पक्षमा मतदान गर्न आग्रह गर्दै शर्माले जनताबाट स्पष्ट बहुमत प्राप्त भए काँग्रेसले शान्ति, स्थायित्व, विकास र समृद्धिको एजेन्डालाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने दाबी गरे । उनले पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन मतदातासँग अपिल समेत गरे ।