



उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित पुल नजिक मदन भण्डारी लोकमार्गमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । साँझपख राजमार्गमै अवरोध हुने गरी वस्तु राखिएको सूचना पाएपछि सुरक्षाकर्मी तत्काल घटनास्थल पुगेका थिए ।
पशुपति प्रसाद गण, पिपलटार ब्यारेक उदयपुरबाट खटिएको नेपाली सेनाको टोलीले सुरक्षा सतर्कता अपनाउँदै उक्त वस्तुलाई नियन्त्रणमा लिई सुरक्षित स्थानमा लगेर डिस्पोज गरेको हो । प्रारम्भिक जाँचका क्रममा वस्तु विस्फोटक पदार्थ नभएको सुरक्षा स्रोतले जनाएको छ ।
शंकास्पद वस्तु भेटिएको खबरपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले क्षेत्र घेराबन्दी गर्दै सवारी आवागमन केही समयका लागि रोकिएको थियो । सेनाको प्राविधिक टोली पुगेपछि वस्तुलाई करिब ५० मिटर टाढा सारेर निष्क्रिय पारिएको बताइएको छ ।
व्यस्त सडक खण्डमा यस प्रकारको वस्तु राखिएपछि स्थानीय बासिन्दा त्रसित बनेका थिए । यद्यपि, वस्तु विस्फोटक नभएको पुष्टि भएसँगै स्थिति सामान्य बनेको छ। उक्त वस्तु कसले र किन राखेको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।