



उदयपुर । आसन्न फागुन २१ गते हुने संघीय प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उदयपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बलदेव चौधरीलाई आम जनता पार्टी नेपालका उम्मेदवारले समर्थन गरेका छन् । आईतवार एक प्रेस विज्ञप्ति जारी गर्दै आजपाका उम्मेदवार मनोज कुमार पौडेलले आफ्नो उम्मेदवारी निष्क्रिय राख्दै समर्थन गरेको हो ।
पौडेलले जारी गरेको विज्ञप्तिमा वर्तमान राजनीतिक परिस्थितिमा संविधानको रक्षा, सुशासन कायम, भ्रष्टाचार नियन्त्रण तथा स्थिर सरकार निर्माणका लागि बलदेव चौधरीको नेतृत्व आवश्यक रहेको उल्लेख गरेका छन् । साथै लघुवित्त, सहकारी तथा मिटरब्याजबाट पीडित नागरिकहरूको माग सम्बोधन गर्न सडक र सदन दुवैमा सशक्त आवाज उठाउन सक्ने प्रतिबद्धता चौधरीले व्यक्त गरेको भन्दै उनले समर्थन जनाएको बताएका छन् ।
विज्ञप्तिमा उनले आफ्ना समर्थक, शुभेच्छुक तथा आम मतदातालाई तारा चुनाव चिन्हमा मतदान गरी बलदेव चौधरीलाई विजयी गराउन आग्रह गरेका छन् । उक्त विज्ञप्ति फागुन १० गते जारी गरिएको हो । सम्मेलनमा कानुन तथा लेखापढी व्यवसायी एवम् समावेशी खगेन्द्र राईलाई पार्टीको त्रियुगा नगरकमिटी सदस्यमा मनोनीत गरेका थिए ।
