एन्फा महिला च्याम्पियनसिपको उपाधि एपिएफको पोल्टामा


नयन राई
उदयपुर । उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा शनिवार सम्पन्न एन्फा महिला च्याम्पियनसिपको उपाधि सशस्त्र प्रहरी क्लब (एपिएफ)ले हात पारेका छन् । फाइनल खेलमा एपिएफले त्रिभुवन आर्मी क्लब (आर्मी)लाई २–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।

खेलको दोस्रो हाफमा आक्रामक प्रदर्शन गरेको एपिएफका लागि ५४औँ मिनेटमा जर्सी नम्बर १२ की गीता राणाले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाइन् । त्यसपछि ६८औँ मिनेटमा जर्सी नम्बर ७ की रेनुका नगरकोटीले अर्को गोल थप्दै अग्रता दोब्बर पारिन् ।

आर्मीका लागि ७१औँ मिनेटमा जर्सी नम्बर ८ की जेनिफर राणाले एक गोल फर्काए पनि खेलको नतिजा परिवर्तन हुन सकेन । उत्कृष्ट प्रदर्शन गरेकी एपिएफकी गीता राणा ‘म्यान अफ द म्याच’ घोषित भइन् ।

उपाधिसँगै विजेता एपिएफले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता आर्मीले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगिताकी उत्कृष्ट गोलरक्षक एपिएफकी अन्जना राना मगर भइन् भने सर्वाधिक गोलकर्ताको उपाधि पनि एपिएफकै रश्मी कुमारी घिसिङले जितिन् । सर्वोत्कृष्ट खेलाडीको अवार्ड भने आर्मीकी दीपा शाहीले प्राप्त गरिन् । उनीहरूले जनही ५० हजार रुपैयाँ नगद पुरस्कार पाए ।

फाइनल खेल हेर्न रंगशालामा दर्शकको उल्लेख्य भीड देखिएको थियो । प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना तथा जिल्ला फुटबल संघ उदयपुरको सह–आयोजनामा सञ्चालन गरिएको हो ।

फागुन १ गतेदेखि सुरु भएको प्रतियोगितामा देशभरका १० शीर्ष महिला फुटबल टिमहरूको सहभागिता रहेको थियो । एन्फाका महासचिव किरण राईका अनुसार नेपालमै यो स्तरको महिला फुटबल प्रतिस्पर्धा पहिलो पटक आयोजना गरिएको हो ।

Facebook Comments