



त्रियुगा । उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा जारी एन्फा महिला च्याम्पियनसिप अन्तर्गत उपाधिको लागि भिडन्त पक्का भएको छ । अन्तिम सेमिफाइनल खेलमा एपीएफ फुटबल क्लबले संकटा फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गरेसँगै भिडन्त पक्का भएको हो
खेलको १०औँ मिनेटमै जर्सी नम्बर १९ की रष्मी कुमारी घिसिङको गोलमार्फत एपीएफले अग्रता बनाएको थियो । त्यसको दुई मिनेटपछि जर्सी नम्बर १५ की अनिता केसीले दोस्रो गोल थप्दै टिमलाई बलियो स्थितिमा पुर्याइन् । निर्धारित समयको अन्त्यतिर, ८७औँ मिनेटमा जर्सी नम्बर १२ की गीता रानाले गोल गर्दै एपीएफको जित सुनिश्चित गरिन् ।
पहिलो हाफमै दुई गोलको अग्रता बनाएको एपीएफले दोस्रो हाफमा पनि खेल नियन्त्रणमा राख्यो। विदेशी खेलाडी समावेश रहेको संकटाले केही समय दबाब सिर्जना गरे पनि फिनिसिङ कमजोर हुँदा गोल फर्काउन सकेन । उक्त खेलकी म्यान अफ द म्याच एपीएफकी जर्सी नम्बर २ की मनमाया दमाई घोषित भइन्। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी र फ्लेक्स प्राप्त गरिन् ।
यसअघि क्वार्टरफाइनलमा एपीएफले आरएस रिसोर्ट पोखरालाई १९–० को फराकिलो अन्तरले पराजित गरेको थियो । फाइनलमा एपीएफको सामना यसअघि नै फाइनल प्रवेश गरिसकेको त्रिभुवन आर्मी फुटबल क्लबसँग हुनेछ । आर्मीले क्वार्टरफाइनलमा न्यूरोड टिमलाई ६–१ तथा सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै फाइनल यात्रा तय गरेको हो ।
१० टिमको सहभागिता रहेको प्रतियोगिताबाट गाईघाट फुटबल क्लब, एफसी रियल, छहारी युथ क्लब, आरएस रिसोर्ट, न्यूरोड टिम, चर्च ब्वाइज, नेपाल पुलिस क्लब र संकटा क्लब बाहिरिएका छन् । फागुन ९ गते हुने फाइनल खेलमा एपीएफ र आर्मीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ७ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । साथै उत्कृष्ट तीन खेलाडीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक अखिल नेपाल फुटबल संघले जनाएको छ ।