



उदयपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उदयपुर क्षेत्र नम्बर १ का उम्मेदवार बलदेव चौधरीले सोमबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । बेल्टार बजारमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले घोषणापत्र सार्वजनिक गर्दै विकासलाई व्यवहारिक रूपमै अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
घोषणापत्रमा “विकासको आधार—पूर्वाधार, कृषि र स्वरोजगार” भन्ने नारालाई मूल आधार बनाउँदै जिल्लाका विभिन्न पालिकालाई फरक–फरक पहिचानसहित विकास गर्ने योजना प्रस्तुत गरिएको छ । यसअन्तर्गत बेलका नगरपालिकालाई कृषि तथा पर्यटनको केन्द्र, चौदण्डिगढी नगरपालिकालाई औद्योगिक क्षेत्र र त्रियुगा नगरपालिकालाई शैक्षिक हबका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।
उम्मेदवार चौधरीले आफूले केवल चुनावी आश्वासन नभई कार्यान्वयनमुखी प्रतिबद्धता प्रस्तुत गरेको उल्लेख गर्दै जिल्लामा निर्माणाधीन एसियन हाइवे मार्गलाई तपेस्वरी क्षेत्र हुँदै जोड्ने पहल गरिने बताए ।
त्यसैगरी ग्रामीण सडक सञ्जाल विस्तार, पुल–पुलेसा निर्माण, कोशी करिडोर सडक, सिँचाइ सुविधाको विस्तारलाई प्राथमिकतामा राखेर विकास निर्माण कार्यलाई गति दिने उनको भनाइ छ । गाईघाटको जोगिदह क्षेत्रमा प्रस्तावित सगरमाथा विमानस्थलको प्रक्रिया अघि बढाइने प्रतिबद्धता पनि घोषणापत्रमा समेटिएको छ ।
घोषणापत्रमा पूर्वाधार तथा यातायात, कृषि र सिँचाइ, पर्यटन प्रवर्द्धन, शिक्षा र स्वास्थ्य, सुशासन, युवा स्वरोजगार, विपद् व्यवस्थापन, वातावरण संरक्षण, भूमिहीन तथा सुकुम्बासीको व्यवस्थापन, उद्योग–व्यवसाय, वित्तीय संस्था र खेलकुद क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख गरिएको छ ।