



त्रियुगा । उदयपुरको गाईघाटस्थित थरुहट रङ्गशाला मा जारी एन्फा महिला च्याम्पियनसिप छनोट प्रतियोगितामा न्यु रोड टिम (एनआरटी) ले प्रभावशाली प्रदर्शन गर्दै गाईघाट एफसी माथि २–० गोलको जित निकालेको छ । खेलभरि संयमित पासिङ र तीव्र आक्रमण प्रस्तुत गरेको एनआरटीले मध्यभागमा पकड जमाउँदै प्रतिस्पर्धालाई आफ्नो नियन्त्रणमा राख्यो ।
पहिलो हाफको ४७औँ मिनेटमा जर्सी नम्बर ११ की प्रतीक्षा ठकुरी ले उत्कृष्ट प्रहारमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । त्यसपछि ७९औँ मिनेटमा जर्सी नम्बर ८ की सुशिला केसी ले थप गोल गर्दै जित सुनिश्चित गरिन् । घरेलु टोली गाईघाट एफसीले पनि केही अवसर सिर्जना गरे तापनि अन्तिम प्रहारमा चुक्दा गोल गर्न सकेन ।
उत्कृष्ट प्रदर्शनका लागि प्रतीक्षा ठकुरी ‘म्यान अफ द म्याच’ घोषित भइन् । यस जितसँगै एनआरटीले प्रतियोगितामा दाबेदारी प्रस्तुत गरेको छ । अब फागुन ४ गते हुने खेलमा एनआरटीले त्रिभुवन आर्मी एफसी सँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताअन्तर्गत फागुन २ गते नेपाल पुलिस क्लब र एफसी रियल बीच पहिलो खेल हुनेछ भने दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेड र छहारी एफसी आमनेसामने हुनेछन् । प्रतियोगिताको उद्घाटन दक्षिण एसियाली फुटबल महासङ्घका महासचिव पुरुषोत्तम कट्टेल ले गर्नुभएको थियो । प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन हुने जानकारी एन्फाका महासचिव किरण राई ले दिएका छन् ।