उदयपुरका दुवै क्षेत्रबाट ३१ उम्मेदवार मैदानमा

उदयपुर । आगामी फागुन २१ गते हुने संघीय प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उदयपुरका दुवै निर्वाचन क्षेत्रबाट कुल ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट एक स्वतन्त्रसहित १८ जना र क्षेत्र नम्बर २ बाट एक स्वतन्त्रसहित १३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट दुर्गाकुमार थापा (स्वस्ती), नेपाली कांग्रेसबाट विदुर बस्नेत र नेपाली कम्युनिष्ट पार्टीबाट बलदेव चौधरीले उम्मेदवारी दिएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट पारसमणी गेलाल मैदानमा छन् ।

अन्य दलका उम्मेदवारहरूमा राप्रपाबाट सुवासचन्द्र खड्का, जनता समाजवादी पार्टीबाट गणेशकुमार राई, श्रम संस्कृती पार्टीबाट राजेशकुमार राई, नेपाल मजदुर किसान पार्टीबाट विष्णुबहादुर खत्री, आम जनता पार्टीबाट मनोजकुमार पौडेल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट अमृतबहादुर खत्री रहेका छन् । मङ्गोल नेशनल अर्गनाइजेसनबाट बद्री विक्रम राई उम्मेदवार बनेका छन् ।

यस क्षेत्रबाट मात्र उम्मेदवारी दिने दलहरूमा नेपाल जनमुक्ति पार्टीबाट गोकर्ण राई, नागरिक सर्वोच्चता पार्टी नेपालबाट प्रशान्तकुमार राई, संयुक्त नागरिक पार्टीबाट सुरेश राई, नेपाली जनता दलबाट कुशेश्वर चौधरी, राष्ट्रिय जनमोर्चाबाट लिलकुमार राई तथा उज्यालो नेपाल पार्टीबाट अर्जुन तामाङ रहेका छन् । स्वतन्त्रतर्फ देवराज रोकाले उम्मेदवारी दर्ता गराएका छन् ।

उता, निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट अम्बर रायमाझी, नेपाली कांग्रेसबाट रामकुमार राई र नेपाली कम्युनिष्ट पार्टीबाट सुरेशकुमार राई (हिमाल) ले उम्मेदवारी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सूर्यबहादुर तामाङ मैदानमा छन् ।

यस क्षेत्रमा राप्रपाबाट विष्णुबहादुर खड्का, जनता समाजवादी पार्टीबाट केशवबहादुर मगर, श्रम संस्कृती पार्टीबाट बलराज राई, नेपाल मजदुर किसान पार्टीबाट पूर्णबहादुर बुढाथोकी, आम जनता पार्टीबाट बमबहादुर मगर, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट दुर्गबहादुर तामाङ तथा मङ्गोल नेशनल अर्गनाइजेसनबाट भास्कर राई उम्मेदवार बनेका छन् । राष्ट्रिय परिवर्तन पार्टीका अरुण राई यस क्षेत्रबाट मात्र उम्मेदवारी दिने उम्मेदवार हुन् ।

स्वतन्त्रतर्फ मेजरकुमार राईले उम्मेदवारी दर्ता गराएका छन् । दुवै क्षेत्रमा उम्मेदवारी दर्ता सम्पन्न भएसँगै उदयपुरमा चुनावी सरगर्मी बढ्दै गएको छ ।

Facebook Comments