नेकपा उदयपुरमा उम्मेदवार सिफारिस सहमति, लामो रस्साकस्सीको अन्त्य

उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याएको छ । जसमा, निर्वाचन क्षेत्र नम्बर १ बाट बलदेब चौधरी र निर्वाचन क्षेत्र नम्बर २ बाट सुरेश कुमार राई (हिमाल)को नाम टुंग्याएको हो । साविक माओवादी केन्द्र, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपासहित १७ दलको एकीकरणबाट बनेको नेकपाले आन्तरिक छलफल र बहसपछि उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।

पार्टीका नेताहरूका अनुसार आकांक्षीको संख्या अत्यधिक भएपछि उदयपुरमा सिफारिस प्रक्रिया अन्य जिल्लाभन्दा ढिलो भएको हो । सुरुमा माओवादी केन्द्रमै दर्जनभन्दा बढी आकांक्षी रहेकामा एकीकरणपछि अन्य घटकबाट समेत दाबेदार थपिँदा सहमति जुटाउन समय लागेको बताइएको छ ।

स्थानीय तहबाट आएका सिफारिसका आधारमा जिल्ला कमिटीले नाम टुंग्याउने प्रयास गरे पनि सम्भव नभएपछि एक कार्यदल गठन गरिएको थियो । एकीकरणमा सहभागी दलका जिल्ला इन्चार्ज, संयोजक र केन्द्रीय सदस्यहरू सम्मिलित उक्त कार्यदलले पटक–पटक बैठक गरी व्यापक छलफलपछि सर्वसम्मत रूपमा नाम सिफारिस गरेको पार्टीको दाबी छ ।

कार्यदलमा माओवादी केन्द्रबाट मणि खम्बु (रिवासी) र द्रोण पौडेल (निरज), एकीकृत समाजवादीबाट राममणि पोखरेल र विनोद खड्का तथा विप्लव नेतृत्वको नेकपाबाट लक्ष्मण पौड्याल र दीपक बस्नेत रहेका थिए । उदयपुरमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । पार्टीले क्षेत्र नम्बर १ बाट १० जना र क्षेत्र नम्बर २ बाट ८ जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर १ बाट अर्जुन तिम्सिना, किरण राई, जगन्नाथ खतिवडा, प्रवेश खड्का, बलदेव चौधरी, विशाल राई, मणि खम्बु (रिवासी), मनकुमार राई, रमण भट्टराई र सुरेशकुमार राई (हिमाल) सिफारिस भएका छन् । वर्णानुक्रमअनुसार रहेका नाममध्ये तिम्सिना, खतिवडा, चौधरी र मनकुमार साविक एकीकृत समाजवादीका हुन् भने बाँकी माओवादी केन्द्रबाट आएका हुन् ।

त्यसैगरी क्षेत्र नम्बर २ बाट एबिराज राई, जगन्नाथ खतिवडा, बलदेव चौधरी, भेषकुमारी राउत (कोपिला), मेजरकुमार राई, लक्ष्मण पौड्याल, सुरेशकुमार राई (हिमाल) र हेमराज दाहाल सिफारिसमा परेका छन् । यसमध्ये खतिवडा र चौधरी साविक एकीकृत समाजवादीका हुन् भने पौड्याल विप्लव समूहबाट आएका हुन् । बाँकी सबै माओवादी केन्द्र पृष्ठभूमिका हुन् ।

कार्यदलले खतिवडा, चौधरी र हिमाललाई दुवै निर्वाचन क्षेत्रबाट सिफारिस गरेको छ । खतिवडा र सुरेशकुमार राई (हिमाल) क्षेत्र नम्बर २ का पूर्व सांसद हुन् भने बलदेव चौधरी क्षेत्र नम्बर १ अन्तर्गत त्रियुगा नगरपालिकाका पूर्व मेयर हुन् । खतिवडा २०५६ र हिमाल २०७४ मा निर्वाचित सांसद हुन् ।

क्षेत्र नम्बर १ बाट सिफारिस भएकी मणि खम्बु (रिवासी) २०६४ सालमा तत्कालीन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्य निर्वाचित भएकी थिइन् । क्षेत्र नम्बर २ बाट सिफारिस भएकी भेषकुमारी राउत (कोपिला) पनि २०६४ कै समानुपातिकतर्फ संविधानसभा सदस्य रहिसकेकी हुन् ।

पार्टीले सिफारिसमा विभिन्न घटकको प्रतिनिधित्वसँगै युवाहरूलाई पनि समेटिएको जनाएको छ। “लामो छलफलपछि सबै पक्षको भावना समेटेर नाम टुंग्याएका हौँ,” एक नेताले भने, “अब पार्टी एकढिक्का भएर चुनावमा होमिन्छ ।”

Facebook Comments