



नयन राई
उदयपुर । मदन भण्डारी राजमार्ग अन्तर्गत नेपालटार–गाईघाट सडकखण्डको उदयपुरगढी गाउँपालिका–७ अधेँरीमा मालबाहक ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परेका दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाग्मती प्रदेश ००१ ख ०५०५ नम्बरको ट्रक नारायणघाटबाट सामान बोकेर गाईघाटतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनाग्रस्त ट्रकले किच्दा दुई जनाको अवस्था अत्यन्तै विभत्स बनेको र शव निकाल्न कठिन भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
घटनापछि नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा स्थानीयवासी उद्धार कार्यमा खटिएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक केदारमान दोङले दुर्घटनाको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको बताए ।
उनका अनुसार ट्रकले किचेको अवस्थामा शव निकाल्न चुनौतीपूर्ण भएको छ । “घटनास्थलमा प्रहरी खटिएको छ, शव निकाल्ने काम भइरहेको छ,” उनले भने ।
बारम्बार दुर्घटना भइरहने उक्त स्थानलाई ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’ का रूपमा चिन्हित गर्दै सतर्कता अपनाउन सवारी चालकलाई सूचना दिँदै आएको छ । त्यसै स्थानमा पुनः अर्को भयावह दुर्घटना हुँदा स्थानीयवासी त्रसित बनेका छन् ।