



उदयपुर । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले अध्यक्ष पदबाट राजिनामा दिएर उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सोमबार दिउँसो गाउँपालिकामा राजीनामा बुझाएका राईले मंगलबार कटारीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका थिए । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश कमिटी सदस्यसमेत रहेका राई पार्टीबाटै उम्मेदवार बन्ने तयारीमा थिए । तर, पार्टीले टिकट नदिएपछि अन्ततः स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिएका हुन् ।
त्यस निर्वाचन क्षेत्रमा नेकपाले भने सुरेशकुमार राई (हिमाल)लाई आधिकारिक उम्मेदवारका रूपमा अघि सारेको छ । पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै मेजरकुमार राईले जनताकै बीचबाट समर्थन खोज्ने बाटो रोजेको पाईएको छ ।
राई २०७४ र २०७९ का स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट लगातार दुई कार्यकाल लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका व्यक्ति हुन् । स्थानीय विकास, पहुँच विस्तार र सेवा प्रवाहमा सक्रिय भूमिका खेलेका उनी अब संघीय संसद्को यात्रामा स्वतन्त्र पहिचानसहित अगाडि बढेका छन् ।