



काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय एकता दिवसको अवसर पारेर जारी गरेको भिडियो सन्देशमार्फत उनले करिब दुई दशकअघि दलहरूको आग्रहअनुसार राजकाजबाट अलग भएको स्मरण गर्दै अहिले पनि देश संकटमै अल्झिएको देख्दा निराश भएको बताएका हुन् ।
उनले शान्ति, समृद्धि र स्थायित्वको वाचा गर्दै सत्तामा पुगेका दलहरूकै चाहनाअनुसार श्रीपेच सुरक्षित निकायमा बुझाएर सहयोगी भावनाका साथ आफू राजदरबारबाट बाहिरिएको उल्लेख गरे। तर यति लामो समय बितिसक्दा पनि मुलुकले उही अस्थिरता, आर्थिक चुनौती र अन्योलको सामना गरिरहनु दुःखद भएको उनको भनाइ छ ।
पूर्वराजा शाहले नेताहरूका भाषण र आश्वासनले मात्र देश नबन्ने भन्दै व्यवहारिक कार्यदिशा आवश्यक रहेको बताए । देश नै टिकिरहन्छ कि रहँदैन भन्ने खालको निराशा जनतामा पैदा हुनु चिन्ताको विषय भएको उनले औँल्याए ।
उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै नेपाल चार वर्ण ३६ जातिको साझा फूलबारी भएको उल्लेख गरे । यो मुलुक कुनै एक पक्षको मात्र नभई जनता र राजाको समान स्वामित्वको साझा घर भएको सन्देश पृथ्वीनारायणले दिएको उनले बताए । पूर्वराजा शाहले सबै नेपालीलाई आफ्नो कर्तव्य बोध गर्दै राष्ट्रहितको मार्गमा अघि बढ्न आह्वान पनि गरेका छन् ।