कोशीमा सरकार पुनर्गठनको तयारी, को-को बन्लान् नयाँ मन्त्रीहरु ?

विराटनगर । कोशी प्रदेश सरकारमा चाँडै नै मन्त्रिपरिषद् पुनर्गठन हुने संकेत देखिएको छ । सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच सहमति नजिक पुगेसँगै मुख्यमन्त्री हिक्मत कार्कीले सरकारको संरचना फेर्ने तयारी अघि बढाएका हुन् ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार एक–दुई दिनभित्रै नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम तय हुन सक्नेछ । नेपाली कांग्रेसका सांसद भीम पराजुलीले पनि सरकार पुनर्गठन अन्तिम चरणमा पुगेको पुष्टि गर्दै छिट्टै औपचारिक प्रक्रिया अघि बढ्ने बताए ।

एमालेतर्फबाट मन्त्री बन्न इच्छुक नेताहरूको सूची लामो देखिएको छ । पार्टीभित्र बिदुर लिङ्थेप, चिन्तन पाठक, निरन राई, इन्द्रमणि पराजुली, उमाकान्त गौतम र रामप्रसाद मेहतामध्ये चार जनालाई मन्त्री बनाउने तयारी भइरहेको स्रोतको भनाइ छ ।

यस्तै, नेपाली कांग्रेसबाट भने चार जनाको नाम लगभग टुंगो लागेको बताइन्छ । कांग्रेस स्रोतका अनुसार मानबहादुर लिम्बू, भीम पराजुली, इसराइल मन्सुरी र प्रदीप सुनुवारलाई मन्त्रीको जिम्मेवारी दिने तयारी छ ।

वर्तमान सरकारमा नेकपा एमालेबाट राम राना (आर्थिक मामिला), पाँचकर्ण राई (सामाजिक विकास), रेवतीरमण भण्डारी (आन्तरिक मामिला तथा कानुन) र एकराज खनाल (खानेपानी, सिँचाइ तथा ऊर्जा) मन्त्रीका रूपमा कार्यरत छन् ।

नेपाली कांग्रेसबाट भूपेन्द्र राई (भौतिक पूर्वाधार विकास र स्वास्थ्य), खगेनसिंह हाङ्गाम (कृषि) र सदानन्द मण्डल (पर्यटन, वन तथा वातावरण) मन्त्री रहेका छन् । प्रदेश सरकारमा भागबन्डा मिलाउन र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन यो पुनर्गठन गर्न लागिएको स्रोतको दाबी छ ।

Facebook Comments