उदयपुरमा ४ सवारी दुर्घटनामा परी एकै दिन ६ जना घाइते


उदयपुर । उदयपुर जिल्लाका विभिन्न स्थानमा शुक्रबार भएका चार फरक–फरक सवारी दुर्घटनामा परी एकै दिन ६ जना घाइते भएका छन् । प्रथम घटना त्रियुगा नगरपालिका–९ कालिखोला नजिक मदनभण्डारी राजमार्गमा बिहान करिब ९:१० बजे भएको हो ।

गाईघाटबाट चुहाडेतर्फ जाँदै गरेको स ५ प ४०४१ नं. स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०२–०१९ प १५३७ नं. मोटरसाइकल एक–आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । घाइते हुनेहरूमा रौतामाई–७ मुर्कुचीका २२ वर्षीय सुरेन्द्र पुलामी मगर, उनकी आमा ४३ वर्षीया दिल कुमारी मगर र त्रियुगा–१२ शनिमन्दिरका २६ वर्षीय ईमन कार्की रहेका छन् । उनीहरूलाई जिल्ला अस्पताल उदयपुरमा प्रारम्भिक उपचारपछि विराटनगरका अस्पतालमा थप उपचारका लागि लगिएको छ ।

त्यसपछि बिहान करिब ११:०० बजे रौतामाई–७ घट्टामा बा ४० प ८२५२ नं. को मोटरसाइकलले त्यही स्थानका ८२ वर्षीय पैदलयात्री नारायण बहादुर कार्कीलाई ठक्कर दिँदा घाइते बनाएको छ । उनलाई विराटनगरस्थित आर्या न्यूरो अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

तेस्रो दुर्घटना दिउँसो १२:०० बजे त्रियुगा–१० आँखा अस्पताल नजिक भएको हो । मुर्कुचीबाट बोक्सेतर्फ जाँदै गरेको नेपाली सेनाको टु–टन गाडी र विपरीत दिशाबाट आएको मोटरसाइकल ठोक्किँदा झापा कमल गाउँपालिका–५ का ३७ वर्षीय गोपाल बहादुर सार्की घाइते भएका छन् । उनलाई पनि विराटनगरस्थित आर्या न्यूरो अस्पतालमा थप उपचारका लागि लगिएको हो ।

चौथो दुर्घटना दिउँसो २:०० बजे त्रियुगा–१० बोक्सेचोक नजिक भएको हो । करमगछीबाट गाईघाटतर्फ जाँदै गरेको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका १६ वर्षीय सुमन राईलाई ठक्कर दिँदा उनी घाइते भएका हुन् । राईको जिल्ला अस्पताल उदयपुरमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न एक मोटरसाइकल र चालक भने फरार रहेको र खोजतलास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments