



कटारी । उदयपुरको कटारी नगरपालिका–४ ककुर खोलामा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएका छन् ।
मदन भण्डारी लोकमार्गको कटारी–सिन्धुली खण्डमा बागमती प्रदेश ०२–०५४ प ६९९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट छेउतिर खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा कटारी नगरपालिका–४ का १६ वर्षीय सम्राट खड्का र १८ वर्षीय राजमणी कटुवाल गम्भीर घाइते भएका थिए ।
दुवै जनालाई तत्कालै प्रादेशिक अस्पताल कटारीमा उपचारका लागि लगिएको थियो। तर, गम्भीर घाइते सम्राट खड्काको उपचारकै क्रममा मंगलबार बिहान मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ । घाइते राजमणी कटुवाललाई प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल रेफर गरिएको छ।
प्रहरीका अनुसार मोटरसाइकल राति करिब १०ः२० बजे अनियन्त्रित भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।