उदयपुरमा बोलेरो दुर्घटना, १५ जना घाइते

कटारी । उदयपुरको कटारी नगरपालिका–४ बिजुलेडाँडा नजिक सिद्धिचरण लोकमार्गमा बोलेरो पिकअप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय कटारीका अनुसार कटारीबाट लेखानीतर्फ जाँदै गरेको बा ७ च ३६९५ नम्बरको बोलेरो पिकअप शुक्रबार दिउँसो करिब ३:२० बजे अनियन्त्रित भई सडकको बायाँ साइडमा पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकामध्ये सिन्धुली दुधौली नगरपालिका–१४ निवासी ६७ वर्षीय क्षेत्रबहादुर मगर, कटारी नगरपालिका–८ का ४५ वर्षीय अर्जुन तामाङ, २५ वर्षीया राममाया तामाङ, ३३ वर्षीया मिना कुमारी तामाङ, कटारी–४ निवासी ३० वर्षीय दुर्गा दुलाल, २४ वर्षीया मनिषा दुलाल, कटारी–९ निवासी १३ वर्षीय लाटाङ तामाङ (अनिल तामाङका छोरा), कटारी–८ निवासी ५२ वर्षीय दिलबहादुर तामाङ, ५९ वर्षीय अमृतबहादुर तामाङ, ६२ वर्षीय रत्नलाल तामाङ, ४३ वर्षीय मानबहादुर श्रेष्ठ, ६८ वर्षीय कृष्ण राई, कटारी–१४ निवासी ३४ वर्षीय देवबहादुर राई, कटारी–५ निवासी ६ वर्षीय चन्द्रबहादुर तामाङ (सोमबहादुर तामाङका छोरा) र २२ वर्षीया लक्ष्मी तामाङ रहेका छन् ।

घाइते सबैजनालाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल कटारीमा उपचारका लागि पुर्‍याइएको प्रहरीले जनाएको छ । बिरामीमध्ये केही जनाको अवस्था गम्भीर रहेकाले अवस्था अनुसार अन्य सुविधा सम्पन्न अस्पतालमा रेफर गर्ने तयारी भइरहेको छ ।

दुर्घटनामा संलग्न बोलेरो चालक कटारी नगरपालिका–१४ लेखानीका ३० वर्षीय सागर राईलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ । बोलेरो सडकबाट पल्टिए पनि सडक अबरुद्ध नभएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे प्रारम्भिक अनुमान अनुसार गाडीको गति र सडकको मोडको कारण हुनसक्ने देखिएको भए पनि विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।

Facebook Comments