



उदयपुर । होली खेल्ने क्रममा मादक पदार्थ र लागू औषध सेवन गरी झगडा र उच्छृङ्खल गतिविधि गर्ने १२ जना व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ । प्रहरीले १० जना व्यक्तिहरूलाई मुख्य कार्यालयबाट र २ जनालाई ईलाका प्रहरी कार्यालय कटारीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । कार्यालयले जनाएअनुसार पक्राउ परेका सबैको थप अनुसन्धान भइरहेको छ ।
त्यसैगरी ट्राफिक नियम उल्लङ्घन गर्ने र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ३९ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर र अन्य मातहत इकाईहरूले उक्त सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा २२ वटा मोटरसाइकल, १ वटा अटो र अन्य विभिन्न सवारी साधन रहेको छ ।
फागू पूर्णिमा पर्वको दिन सवारी दुर्घटनासमेत भएको छ । दुर्घटना जिल्लाको त्रियुगा नगरपालिका ११ गाईघाट बजारस्थित मेनचोक र वडा नमबर १३ स्थित भातिखर्कमा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । मेनचोकमा मोतिगडातर्फ जाँदै गरेको अटो अनियन्त्रित भइ दुर्घटना हुँदा अटो चालक गणेश पौडेल र अटोमा सवार कुमार राउत घाइते भएका थिए । उनीहरूलाई उपचारपछि डिस्चार्ज गरिएको छ ।
त्यसैगरी गाईघाट बजारदेखि बेल्टारतर्फ जादै गरेको मोटरसाइकल भातिखर्कमा अनियन्त्रित भएर दुर्घटना हुदा ३ जना मोटरसाइकलमा सवार घाइते भएका छन् । घाइतेलाई उपचारपछि बिराटनगरको न्युरो अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयले जनाएअनुसार होली खेल्ने क्रममा अवाञ्छित गतिविधि रोक्न महत्वपूर्ण सुरक्षा योजना तयार गरेको थियो ।
सुरक्षा व्यवस्था थप कडा बनाउँदै, ३ सय ३९ जना प्रहरी जनशक्ति परिचालन गरिएको कार्यालयले जनाएको छ । साथै, पैदल गस्ती, मोबाईल गस्ती र ट्राफिक चेकिङ पनि सुनिश्चित गरिएको थियो । होलीलाई सुरक्षित र संयमित तरिकामा मनाउनका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिदै आएको प्रहरीको भनाई छ ।