उदयपुर सिमेन्ट उद्योगका मजदुरहरु आन्दोलित

उदयपुर । उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि)मा कार्यरत सुरक्षा मजदुरहरु आन्दोलित भएका छन् । लामो समयदेखि आफूहरु कार्यरत रहेको डिलक्स सेक्यूरिटी सर्भिस प्राईभेट लिमिटेडले सम्झौता अनुसार सेवा सुबिधा उपलब्ध नगराएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

उद्योगमा यसअघि पनि ५९ सुरक्षाकर्मी (सेक्यूरिटी गार्ड) तथा सुरक्षा सरसफाईकर्मी मजदुर कर्मचारीहरुले पाउनुपर्ने सेवा सुबिधा नपाएको गुनासो आएपछि उद्योगको प्रशासन, सेवाप्रदायक संस्था, मजदुर नेता र सरोकारवालाबीच माग पूरा गराउन लिखित सम्झौता भएको थियो । सोही सम्झौता अनुसार १५ दिनभित्र माग पूरा गराउने आस्वासन दिइएको थियो ।

सरोकारवाला सम्बन्धि सबै पक्ष बसेर गरिएको भद्र सम्झौता तोकिएकै समयमा कार्यन्वयन नभएकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको उसिउलिका सेक्यूरिटी इन्चार्ज सुरेन्द्र जर्घामगरले जानकारी दिए । तत्काल आफूहरुको माग पूरा नभए हदैसम्मको आन्दोलनका लागि पनि तयार रहेको सुरक्षा कर्मचारीहरुको भनाई छ ।

के थियो चार बुँदे सहमति
सुरक्षा मजदुरहरु आन्दोलित भएपछि सर्वपक्षिय सरोकारवालासहितको उपस्थितीमा चार बुँदे लिखित सम्झौता भएको थियो । सम्झौतापछि १५ दिनको अल्टिमेटमसहित मजदुरहरु पुनः काममा फर्किएका थिए ।

दुई हप्ताअघि भएको सहमतिमा उद्योग र सेक्यूरिटी कम्पनीसँगको सम्झौता भई कार्यरत ५९ सुरक्षा कर्मचारीहरुलाई २०८० भदौ ८ गतेदेखि लागु हुने गरी साप्ताहिक बिदा बापतको भुक्तानी पाउनुपर्ने दुई हजार १६६ रुपैयाँसहित भुक्तान गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै सुरक्षाकर्मीले हाल पाउदै आएको १४ हजार सात सय ४८ रुपैयाँमा साप्ताहिक बिदाको थप गरी १६ हजार ९१४ भुक्तान पर्नेुपर्ने, सुपरभाईजर र गार्ड इन्चार्जहरुले हाल पाउदै आएको १८ हजार ४४ रुपैयाँमा साप्ताहिक बिदाबापतको रकम दुई हजार १६६ जोडेर २१ हजार ६६ भुक्तान गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ ।

सम्झौताको बुँदा नम्बर २ मा विद्यमान श्रम ऐन अनुसार बृद्धि भएको मासिक पारिश्रमिक उद्योगमा कार्यरत ५९ कर्मचारीले सेवा प्रदायक संस्थाले उपलब्ध गराउने साथै सो रकम व्यवस्थापनका लागि सेवाप्रदायकले उसिउलिसँग समन्वय गर्नुपर्ने उल्लेख गरिएको छ ।

यसैगरी सम्झौताको ३ नम्बर बुँदामा सुरक्षा मजदुरहरुलाई काम खटाउने सेक्यूरिटी कम्पनिले कर्मचारीहरुको सामाजिक सुरक्षा बापतको रकम हरेक महिनाको १५ गतेभित्र उपलब्ध गराउनुपर्ने बताइएको छ । सम्झौताको अन्तिम बुँदामा सेवा प्रदायक कम्पनिले हरेक महिनाको २५ गतेभित्र बैंकमार्फत भुक्तानी हुने गरी कर्मचारीलाई तलव दिनुपर्ने उल्लेख छ ।

१५ दिन अघिको सम्झौतापत्रमा डिलक्स सेक्यूरिटी सर्भिस प्रालिका तर्फबाट क्षेत्रीय प्रमुख रोशनप्रसाद दाहाल, अखिल नेपाल सेक्यूरिटी मजदुर संघ उदयपुरका जिल्ला अध्यक्ष बलबहादुर कटुवाल र अािलख नेपाल सेक्यूरिटी मजदुर संघ उदयपुरका जिल्ला उपाध्यक्ष युवराज कार्कीले हस्ताक्षर गरेका छन् ।

सो क्रममा उद्योग प्रशासन महाशाखा प्रमुख प्रथमलाल चौधरी, अखिल नेपाल ट्रेड युनियन महासंघ उदयपुरकी उपाध्यक्ष ज्ञानुमाया कुमारी, अखिल नेपाल औद्योगिक मजदुर संघ इकाई अध्यक्ष विशेश्वर पाल र उसिउलि सरोकारवाला नरबहादुर कार्कीको उपस्थिती थियो । त्रियुगा नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मानबहादुर राई र त्रिनपा कार्यपालिका सदस्य बिमल राईलगायतको रोहवरमा छलफलपछि सम्झौता भएको थियो ।

Facebook Comments