खोटाङ । नेपाली कांग्रेस खोटाङले कांग्रेसको विधान र नीति नियम विपरित महासमिति सदस्य चयन गरिएको भन्दै महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका छन् । उनीहरूले खोटाङ कांग्रेसको नेतृत्व विवादित भएर लामो समयदेखि अनुशासनको कारवाहीको क्रममा रहेका व्यक्तिलाई निर्वाचित गराएकोप्रति आक्रोश प्रकट गर्दै विधिसम्मत निर्वाचन गराउन नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिसंग माग गरेका छन् । १३ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित बिहीबार नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यालय सानेपा पुगेर उनीहरुले महासमिति सदस्य चयन मनोमानी ढंगबाट गरिएको भन्दै त्यसलाई बदर गराई विधिसम्मत निर्वाचन गराउन माग गरेका हुन् । २०८० मंसिर २० गते जिल्ला सभापति विष्णु कुमार राईले महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय प्रतिनिधिहरुलाई जानकारी नगराई विधान र नीति नियम विपरित नाटकीय ढंगले महासमिति सदस्य चयन गरिएको हुँदा निर्वाचन समितिलाई विधान र नीति नियम अनुरुप महासमिति सदस्य चयन गर्न माग गरिएको महाधिवेशन प्रतिनिधि बिरकाजी राईले बताए ।
महाधिवेशन प्रतिनिधि राईका अनुसार महासमिति सदस्य चयन गर्दा महाधिवेशन प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिहरुलाई जानकारी गराएर मात्रै गठन गर्नुपर्ने प्रावधान छ तर नेपाली कांग्रेस खोटाङले पार्टीको विधान र नीति नियम विपरित महासमिति सदस्य चयन गरिएकोले खोटाङका २४ जना महाधिवेशन प्रतिनिधि मध्ये १३ जनाले असहमति जनाएका छन् ।असहमति जनाउने महाधिवेशन प्रतिनिधिहरुमा प्रतिनिधि सभा सदस्य माननीय तथा केन्द्रीय सदस्य सरस्वती बजिमय, प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस कोसी प्रदेश महामन्त्री भुपेन्द्र राई, संविधान सभा सदस्य तथा महाधिवेशन प्रतिनिधि हिरा गुरुङ, नेपाली कांग्रेस खोटाङका पूर्व सभापति तथा महाधिवेशन प्रतिनिधि नरेश कुमार श्रेष्ठ, महाधिवेशन प्रतिनिधि तथा हलेसी तुवाचुङ नगरपालिकाकी नगरप्रमुख विमला राई, महाधिवेशन प्रतिनिधि इच्छुराम राना, महाधिवेशन प्रतिनिधि विश्वनाथ निरौला, महाधिवेशन प्रतिनिधि शान्तिदेवी राई, महाधिवेशन प्रतिनिधि दिवराज राई, महाधिवेशन प्रतिनिधि रुद्र गिरी, महाधिवेशन प्रतिनिधि इन्द्र प्रसाद घिमिरे र महाधिवेशन प्रतिनिधि डिल्ली कुमारी आचार्य छन् ।
उनीहरुले बुझाइएको पत्रमा भनिएको छ–‘नेपाली कांग्रेस खोटाङका सभापति विष्णु कुमार राई र महाधिवेशन प्रतिनिधि सुवाश कुमार पोखरेलले नेपाली कांग्रेस केन्द्रीय कार्यालयको निर्देशन र नीति नियम विपरित २०७९ को राष्ट्रिय निर्वाचनमा पार्टी नीति विपरीत काम गरी पार्टीलाई गम्भीर क्षति पुगेको भनी सवुत प्रमाणसाथ नेपाली कांग्रेस खोटाङ अनुशासन समिति र नेपाली कांग्रेस कोसी प्रदेश अनुशासन समितिबाट कारवाहीको सिफारिस गरिसकेको र नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले उनीहरुलाई स्पष्टीकरण सोधी सकेको अवस्था छ’ महाधिवेशन प्रतिनिधि राईले भने, ‘यस अवस्थामा विवादित व्यक्तिहरु सोही सिद्धान्त बमोजिम मौन वा तटस्थ वस्नु पर्नेमा हामी अधिकांश महाधिवेशन प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिहरुलाई कुनै जानकारी तथा सूचना नै नदिई एकएक महासमिति सदस्य निर्वाचनको नाटक मञ्चन गरेकोप्रति हामी महाधिवेशन प्रतिनिधि तथा सिङ्गो खोटाङ कांग्रेस आश्र्चय चकित छौँ ।’ कुनै पनि विषयमा कारवाहीको सिफारिस गरिएको व्यक्तिलाई निर्वाचित भएको घोषणा गर्नु गैरकानुनी र अराजक भएको बताउदै सभापति राई र महाधिवेशन प्रतिनिधि पोखरेललाई नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिवाट कारवाहीको टुंगो नलागेसम्म जिल्लाका सम्पूर्ण कार्यक्रमहरु बहिष्कार गर्ने पनि उनीहरूको भनाइ छ ।
भिडियोः