लिम्चुङबुङ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकालाई नयाँ गन्तव्यको रुपमा घोषणा भएसँगै पालिकाको चर्चा चुलिएको छ । आफ्नो गाउँपालिकालाई ‘एउटै पुस्तामा समृद्ध बनाउने महाअभियान’ घोषणा गरेसँगै लिम्चुङबुङ गाउँपालिकाको चर्चा चुलिएको हो ।
अभियान एक समारोहको बिच घोषणा गरिएको थियो । नयाँ गन्तव्यको रुपमा घोषणा गरिएको अभियानले पालिकावासीहरुलाई सुखी र खुसी बनाउने अपेक्षा गरिएको छ । घोषणासभामा बोल्दै गाउँपालिका अध्यक्ष मेजर कुमार राईले स्थानीय सरकारले धेरैजसो जन आवश्यकताहरु पुरा गरिसकेको बताए ।
अध्यक्ष राईले त्यसले मात्र नपुग्ने भएर गाउँपालिकालाई नयाँ गन्तव्यको रुपमा घोषणा गरिएको बताए । लिम्चुङबुङको सपना साकार पार्न सिमित स्रोत र साधनले मात्र नपुग्ने भन्दै अन्य स्थानीय सरकारहरुसँग साथ र समन्वय रहने अपेक्षा गरिएको अध्यक्ष राईको भनाई छ ।
अध्यक्ष राईका अनुसार लिम्चुङबुङलाई सहजै समृद्ध बनाउने मुख्यतया दुई पूर्वधारहरुलाई तयार गर्नुपर्ने छ । एउटा पक्की सडक र अर्को पर्यटन प्रवद्र्धन । राईले लिम्चुङबुङ सम्म पक्की सडक मात्रै निर्माण हुने हो भने पालिकाका ९० प्रतिशत समस्या स्वत हल हुने जनाए ।
यस ठाउँबाट हलेसी पनि नजिकै रहेको हुँदा लिम्चुङबङलाई फाईदा हुने अवस्था छ । एभरेष्ट भ्यु टावरबाट ८ हजार माथिका ६ ओटा हिमाल एकै साथ हेर्न सकिन्छ । गाउँमा पशुपालन मौलाएको छ । कृषि र कृषकहरु बढेको छ । फलफुल उत्पादन बढ्दो छ ।
शिक्षा, स्वास्थ्य, सुरक्षा र संञ्चारमा पनि विकास भएको छ । तर सडक अभावले यसलाई टाढा बनाएको छ । यी सबैलाई नजिक जोड्न सडकको आवश्यकता रहेको अध्यक्ष राईले बताए । उनले यो सबै समधान गर्न आफुले महाअभियान घोषणा गरेको जनाए ।
महाअभियानको सोचपत्र गाउँपालिकाका उपाध्यक्ष पुष्प राईले प्रस्तुत गरेका थिए । कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगराज बि.क., स्थानीय उद्योग वाणीज्य संघका प्रतिनिधि, पत्रकार लगायत बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
भिडियोः