मगर समुदायको महोत्सव सम्पन्न, हुर्रे नाँच प्रति दर्शकको क्रेज

त्रियुगा । उदयपुरमा मगरहरुको महान चार्ड माघ्यासकराटी (माघे संक्रान्ति) तथा हुर्रा महोत्सव शनिबार सम्पन्न भएको छ । नेपाल मगर संघ त्रियुगा नगर कमिटीले आयोजनामा सम्पन्न सो कार्यक्रममा वक्ताको भाषणभन्दा पनि सांगितिक माहोल दर्शकको रुची बनेको देख्न सकिन्यो ।

जव नृत्य र गायन आउथ्यो छरिएर रहेका दर्शक स्टेज नजिक आउँथे र कलाकारसँगै झुम्ने, नाँच्ने, गित गाउँदै रमाइलो गरे । गितसंगित पछि वक्ताको भाषण आउनसाथ भिड तितरवितर देखिन्थ्यो । स्थानीय कलाकारले तताईरहेको माहोललाई राष्ट्रिय कलाकार शिव थापामगरले अझ तताए ।

कार्यक्रम संचालक इश्वर वलम्पाकी मगरले शिवको नाम मात्र के लिएका थिए दर्शकको तालि र हुटिङ्गले थरुहट रंगशाला नै गुन्जियो । दर्शकको ताली र ‘वान्समोरको अफरले गायक थापालाई अझ हौसायो । थापाले आफ्नो कला, संस्कृति, रितिरिवाज, भेषभुषाको जगेर्णा गर्दै मगर भाषाका गित सुनाएका थिए ।

गायक शिवले प्रस्तुत गरेको हुर्रा नाँचको गितमा स्टेजमा रहेका अतिथिले पनि आफ्नो मन थाम्न सकेनन् जानी नजानी दर्शक दिर्घामा गएर सँगसँगै नाँचे । निकै लामो समय पछिको सांगितिक महोत्सव र अलग्यै पहिचान बोकेको मगर जातिको हुर्रा नाँचमा दर्शकको नजर दिनभर नै पर्यो ।

कार्यक्रममा मगर समुदायको मौलीक नाचहरु मारुनी, हुर्रा, झ्याउरे, कौडा प्रस्तुत गरीनुको साथै मगर समुदायको मौलीक खानाको परिकार, भेषभुषासमेत राखिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सांसद नारायण बुर्जामगरले इतिहास बोकेको मगर समुदायको चाडपर्व, रितिरिवाज, कलासंस्कृति जगेर्णा गर्न आफु प्रतिवद्ध रहेको बताए ।

उनले नयाँ संबिधानले सबैका हकअधिकार, धर्म, संस्कृतिको संरक्षण गरेकाले जातका आधारमा कोही पनि अपहेलित हुने अबश्था नरहेको बताए । त्यसैगरी प्रदेश सांसद गिता रेग्मीले नेपाल सबै जातजातिको साझा फुलवारी भएकाले सबैको संस्कृति संरक्षण गर्नु राज्यको दायित्व भएको बताईन् । माघे संक्रान्ति मगर विशेषको मात्र नभई राष्ट्रिय चाड भएकाले सरकारले सुचिकृत गर्नु पर्ने धारणा व्यक्त गरिन ।

त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले गुमेको पहिचान, हराएको इतिहास, पछाडि पारिएको संस्कृति संरक्षण गर्न स्थानीय सरकार प्रतिवद्ध रहेकोे बताईन् । उनले नगरभित्रका सबै भाषा, भेषभुसा र संस्कृति संरक्षणका लागि साझाधारणा बनाई साझा फुलवारीकोरुपमा विकास गरिने बताए । उनले मगर समुदायको संग्रालय, जातिय उत्थान, संस्कृति संरक्षणका लागि नगरपालिका प्रतिबद्ध रहेको बताईन् ।

माघ १ गतेबाट एक हप्तासम्म सञ्चालन हुने माध्यासकराटी शुक्रबार सदरमुकाम गाईघाटमा औपचारिक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ । माघे संक्रान्ति पर्व सबै जातजातीले आआफ्ना रितिरिवाज, चालचलन, धर्मसंस्कृतिअनुसार मनाउने गर्दछन् ।

खासगरी माघ १ गते हिन्दु धर्मालम्बिहरुले पवित्र स्थलमा मकर नुहाएर विभिन्न परिकार खाएर मनाउने गर्दछन् । आदिबासी जनजातीहरु किराँत, मगर, थारु लगायतले नयाँ सम्बतकोरुपमा मनाउने गर्दछन् ।

Facebook Comments