कटारी प्रमुखको बागी उम्मेदवारलाई एमालेबाट निस्कासन

उदयपुर । उदयपुरको कटारी नगरपालिकाबाट नगर प्रमुख पदमा बागी उम्मेदवारी दिएकी भिम कुमारी राउतलाई नेकपा एमालेले पार्टीबाट निस्कासन गरेको छ । पार्टीको आधिकारिक उम्मेवार विरुद्धमा उम्मेदवारी मनोनयन गराएको भन्दै उनलाई पार्टीले निस्कासन गरको हो ।

पार्टीको विधानको धारा ८० को उपधारा ६ ले व्यवस्था गरेबमोजिम अनुसाशन उल्लंघन गरेको भन्दै एमाले प्रदेश कमिटीले आईतबार एक बिज्ञप्ती मार्फत बागी उम्मेदवार राउतलाई पार्टी निस्कासनको जानकारी गराएका थिए ।

प्रदेश कमिटी अध्यक्ष तुलसी प्रसाद न्यौपानेद्धारा हस्ताक्षरित पत्रमा “कुनै जनप्रतिनिधि संस्थाको निर्वाचनमा पार्टीको निर्णय विपरित उम्मेदवार बनेमा, पार्टीको उम्मेदवार विरुद्धमा प्रचार गरेमा वा पार्टीको उम्मेदवारको विरुद्धमा उठ्ने अन्य कुनै उम्मेदवारको सर्मथक वा प्रस्तावक बनेमा वा त्यस्तो उम्मेदवारको पक्षमा कुनै काम गरेमा” पार्टी अनुसाशन उल्लंघन गरेको भन्दै बागी उम्मेदवार राउतलाई पार्टी निस्कासन गरेको उल्लेख छ । राउतलाई विधानको धारा ८१ को दफा १ बमोजिम निस्कासन गरिएको समेत उल्लेख छ ।

Facebook Comments Box