जिल्ला प्रहरी उदयपुरको सुविधा सम्पन्न भवन उद्घाटन

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरको सुविधा सम्पन्न भवन प्रहरी महानिरिक्षक (आईजिपि) शैलेश थापा क्षेत्रीलले उद्घाटन गरेका छन् । उनले एक समारोहकाविच भौतिक संरचनाको हिसावले सुविधा सम्पन्न नवनिर्मित भवनहरुको सोमबार उद्घाटन गरेका हुन् ।

निर्माण सम्पन्न भवनहरुमा प्रहरी कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, प्रहरी भान्साघर र नागरिक सहायता कक्षसहित सातवटा भौतिक संरचनाहरु रहेका छन् । सो भवन ११ करोड ४२ लाखमा सम्पन्न भएको हो ।

उक्त भवन निर्माणको जिम्मा आशिस आशिर्वाद जेभिले पाएको थियो । अहिले नवनिर्मित संरचनाको कारणले प्रहरीलाई कार्य सम्पादनमा सहजता आएको जिल्ला प्रहरी प्रमुख (एसपी) सुवासचन्द्र बोहराले बताए । एसपी बोहराले नवनिर्मित भौतिक संरचनाहरु जिल्ला प्रहरी कार्यालयको परिषरभित्र निर्माण भएको समेत बताए ।

प्रहरी कार्यालयसंगै आधुनिक किसिमको हिरासत बनेको छ । मुख्य भवन आसपासमा अन्य भौतिक संरचनाहरु निर्माण भएका छन् । कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव, बरिष्ठ पत्रकार कौशल चेम्जोङ, नेपाल पत्रकार महासंघ शाखाका अध्यक्ष भरत खड्का लगायत अन्य अतिथिहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यालय २०२५ सालमा इनिस्पेक्टरको कमाण्डमा स्थापना भएको पाईन्छ । त्यहि कार्यालयले लामो समयपछि सुविधासम्पन्न भौतिक संरचनाहरु पाएको हो ।

Facebook Comments