चार दिनदेखि बन्द उदयपुर अस्पताल सूचारु

उदयपुर । स्वास्थकर्मी माथि हातपातको बिषयलाई लिएर चार दिनदेखि बन्द जिल्ला अस्पतालको सेवा सोमबारबाट सूचारु भएको छ । गत शुक्रबार राती उदयपुरगढी गाउँपालिका ७ नेपालटारकी ३२ बर्षिया गर्भवति महिला सिता कार्कीको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित समुहले स्वास्थ्यकर्मी माथि हातपात र अस्पतालमा तोडेफोड गरेका थिए ।

अस्पताल परिषरभित्र डिउटीमा रहेका स्वास्थकर्मी रुक्सना खातुनमाथि कुटपिट र अस्पतालमा भएको तोडफोडको विरोधमा उत्रिएका उनीहरुले शान्तिसुरक्षाको प्रत्याभूती नभएसम्म सेवा सुचारु गर्न नसकिने भन्दै आकस्मिक वाहेक सबै सेवा ठप्प पारेका थिए । हातपात र तोडफोडको बिषयमा अस्पताल प्रशासनले आईतबार छानविन गरी दोषिमाथि कारवाहीका लागि प्रशासनलाई अनुरोध गरेपछि स्वास्थ्यकर्मीले विरोधका कार्यक्रम जारी राख्दै काममा फर्किएका हुन् ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेड डाक्टर मुकेशकुमार झाले एक विज्ञप्ति जारी गर्दै विरोधका कार्यक्रम सँगसँगै सेवा सूचारु गरिने बताए । विज्ञप्तिमा विरामीको चाप अनुसार सिमित स्रोतसाधन, न्युन जनशक्तिको भरमा ओपिडी, प्रसुति, विभिन्न किसिमका शल्यकृया, आईसियु, इमेरजेन्सि जस्ता धेरै सेवाप्रवाह गरिरहेको हुँदा अनर्गल प्रचारवाजी गरेर स्वास्थ्यकर्मीको मनोवल कमजोर बनाउने कार्य नगर्नसमेत आग्रह गरिएको छ ।

अस्पतालमा उपलब्ध सेवाले जनताको आर्थिक भारमासमेत ठुलो टेवा पुगेको हुँदा उपचार सेवालाई अझ धेरै प्रभावकारी र गुणस्तरीय बनाउन थपजनशक्ति, उपकरण र सेवाविस्तारका लागि सम्बन्धित निकायलाई ध्यानदिनसमेत विज्ञप्तिमा आग्रह गरिएको छ ।

Facebook Comments