मिस्टर उदयपुर २०७८ हुदै, प्रतियोगिता फागुन १४ देखि हुने

उदयपुर ।  उदयपुरको सदरमुकाम गाईघाटमा मिस्टर उदयपुर शारिरीक सुगठन च्याम्पियन जिल्लास्तरीय प्रतियोगिता हुने भएको छ । आगामी शनिबार हुन लागेको उक्त प्रतियोगिता जिल्लाकै सर्वाधिक धनराशी भएको शारिरीक सुगठन प्रतियोगिता हो ।

इनर्जी फिटनेस क्लब गाईघाटको आयोजनामा हुने प्रतियोगिताका विजेतालाई ५१ हजार, दोस्रोलाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार नगदसहित पुरस्कृत गर्ने बताइएको छ । जिल्लाका चार नगरपालिका र चार गाउँपालिकाका गरी २० जना प्रतियोगीले भाग लिने जानकारी आयोजक संस्थाका संयोजक मनोज कटुवालले दिए ।

मुख्य प्रायोजक फिनिक्स डिस्टिलरी र रियाबल फुड एण्ड वेभरेज रहेको उक्त प्रतियोगिता होटल टाउन हल एण्ड पार्टी प्यालेसमा सम्पन्न हुनेछ । व्यायाममात्र नभएर स्वास्थ्य र तन्दुरुस्त रहनको लागि पनि शारीरिक व्यायामको आवश्यकता हुने भएकाले जनचेतना फैलाउन यस्तो प्रतियोगिता सहायक हुने आयोजकहरुको दाबी छ । प्रतियोगीहरुले अनिवार्य रुपमा आफू उदयपुरवासी भएको प्रमाण पेस गर्नुपर्ने प्रावधान राखिएको छ ।

Facebook Comments