नेकपा एमाले उदयपुरको आठौं जिल्ला अधिबेशन पुष २३ देखि हुने

उदयपुर । नेकपा एमाले उदयपुरको आठौँ जिल्ला अधिवेशन पुष २३, २४ र २५ गते हुने भएको छ । सो अधिवेशन तयारीका सन्र्दभमा शुक्रबार सदरमुकाम गाईघाटमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष इश्वरमणि राउतले उक्त मितिमा हुने बताएका छन् ।

अध्यक्ष राउतले अधिवेशनलाई लक्षित गरी एमालेले संगठित सदस्य, प्रतिनिधि र जनप्रतिनिधिलाई दायित्व तोकेर खर्च व्यवस्थापन गर्न लागेको बताए । अधिबेशनको लागि खर्च व्यवस्थापनका प्रत्येक संगठित सदस्यबाट अनिवार्य २० रुपैँया जम्मा गर्ने गरी अभियान सञ्चालन गरेको अध्यक्ष राउतको भनाई छ । हाल उदयपुर एमालेमा ८ हजार ४ सय ४५ जना संगठित सदस्य छन् ।

संगठित सदस्यबाट मात्र १ लाख ६८ हजार ९ सय रुपैँया संकलन हुने अनुमान गरिएको छ । त्यसैगरी अधिवेशनमा जिल्लाभरबाट ७ सय प्रतिनिधि सहभागि हुदैछन् । प्रत्येक प्रतिनिधिलाई १ हजार दायित्व तोकिएको छ । यसबाट ७ लाख रुपैँया जम्मा हुने अध्यक्ष राउतले बताए ।

यसका अलवा पार्टीबाट निर्वाचित भएका सबै जनप्रतिनिधिलाई एक महिनाको सुबिधा उपलब्ध गराउने गरी जिल्ला कमिटीको निर्णय भएको उनले बताए । जिल्लामा तीन जना प्रदेश सांसद, जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुख २ जना, नगरपालिकाका मेयर र उपमेयर २२ गरी ४ जना, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष २३ गरी ५ जना रहेका छन् ।

त्यसैगरी ८ वटा स्थानीय तहमा ७५ वटा वडा रहेको उदयपुरमा १ सय ६९ जना एमालेका जनप्रतिनिधि रहेका छन् । त्यसमध्ये २६ जना वडाध्यक्ष रहेका छन् । सबैसँग एक महिनाको सुबिधा माग गरिएको अध्यक्ष राउतले बताए । सदरमुकाम गाईघाटमा पुस २३ देखि २५ गतेसम्म तीन दिन चल्ने अधिवेशनमा ८ देखि १० लाख रुपैँया खर्च हुने अनुमान गरिएको उनले बताए ।

त्यसैगरि अधिवेशनलाई लक्षित गरी तयार गरेको लोगोसमेत सार्वजानिक गरेको छ । आयोजकले जिल्लाको भौगोलिक अवश्था, प्राकृतिक सम्पदा र ऐतिहासिक धरोहरलाई समेटेर तयार पारेको लोगो सार्वजानिक गरेको हो । लोगोको सबैभन्दा माथि पार्टीको चुनाव चिन्ह सुर्य, त्यसमुनी हसिया हतौडा अंकित झण्डा रहेको छ ।

त्यसैगरी लोगो भित्र विशेषगरी ऐतिहासिक धार्मिक तथा पर्यटकिय क्षेत्र रौतापोखरी, देशकै सबैभन्दा ठुलो उदयपुर सिमेण्ट उद्योग, जिल्लाकै सबैभन्दा अग्लो ठाउँ चित्रेथान टावर, सबै जातजातिलाई समेटेर तयार पारेको कटारीको भुगोलपार्क, धार्मिक आश्था बोकेको त्रियुगा नदी, सेन वंशले राज्य गरेको चौदण्डिगढी दरवार, सप्तकोसीमा सञ्चालित जेटवोट, धार्मिक आश्थाको केन्द्र राधाकृष्ण मन्दिरका तस्विरहरु राखिएका छन् ।

Facebook Comments