वडाअध्यक्ष राउतमाथि यौन दुव्र्यवहारको मुद्दा

गजेन्द्र राई
चौदण्डीगढी । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष प्रकाश राउतमाथि यौन दुव्र्यवहार गरेको आरोपमा मुद्दा परेको छ । उनलाई आफ्नै वडामा कार्यरत एक महिला कर्मचारी माथि यौन दुव्र्यवहार गरेको आरोप छ ।

सो बिषयलाई लिएर पीडित महिलाले गत चैत्र ३० गते उदयपुर जिल्ला अदालतमा राउत बिरुद्ध मुद्दा दायर गराएकी थिईन् । अदालतमा दायर गरेको फिरादपत्रमा वडाअध्यक्ष राउतले आफूलाई यौन दुर्ववहार गरेको हँुदा क्षतिपूर्ति दिलाई सजाय गरी पाउँ भन्ने उल्लेख गरिएको छ ।

फिरादपत्रमा आफूलाई सदरमुकाम गाईघाट बोलाएर त्रियुगा बसपार्कबाट मोटरसाइकलमा चढाई पुरानो गाईघाट हँुदै स्थानीय कन्चनजँघा होटलमा लगेर दुर्ववहार गरेको आरोप छ । पीडित महिलाले आफूलाई वडाअध्यक्ष राउतले अस्वभाविक, अवान्छित र अमर्यादित व्यवहार गरेकोले एक लाख रुपैयासमेत क्षतिपूर्तिको माग गरेकी छिन् ।

तर, यौन दुव्र्यवहार जस्तो गम्भीर प्रकृतिको मुद्दालाई वडाअध्यक्ष राउतले जवरजस्ति फिर्ता लिन बाध्य पारिएको पीडितका आफन्तहरु बताउँछन् । आफन्तहरुका अनुसार गत भदौ ११ गते दावी सावित गर्न नसक्ने भन्दै पीडितलाई मुद्दा फिर्ता लिन लगाएका थिए । वडाअध्यक्ष राउत बिगतमा पनि बिभिन्न बिषयमा बिवादमा पर्दै आएका व्यक्ति हुन् ।

Facebook Comments