काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नयाँ पुस्तक नयाँ राजनीतिक विश्लेषण प्रकाशन भएको छ । अध्यक्ष प्रचण्डले २०७४ देखि २०७७ सम्म विभिन्न सञ्चारमाध्यममा दिएका अन्तर्वार्ताहरुको संग्रह “नयाँ राजनीतिक विश्लेषण” पुस्तक सार्वजनिक भएको छ । सञ्चार माध्यममा प्रकाशित अन्तर्वार्ताहरुको संगालो प्रस्तुत पुस्तकले तत्कालीन राजनीतिक परिस्थिति र परिघटना बुझ्न मद्दत गर्ने अध्यक्ष प्रकाशकको भनाई रहेको छ ।
‘महान् जनयुद्धका सर्वोच्च कमान्डर, संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य आर्किटेक्चर हुनुको नाताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको नजर अध्यक्ष कमरेड प्रचण्डमा पर्नु स्वाभाविक हो । आफूलाई लागेका कुरा खुलस्त ढङ्गले राख्ने राजनीतिज्ञका रूपमा पनि अध्यक्ष कमरेड प्रचण्ड परिचित हुनुहुन्छ । मिडियाकर्मीको रचनात्मक आलोचनाको सदैव प्रशंसा र सम्मान गर्नुहुन्छ,’’ प्रकाशकले भनेको छ ।
मोवाईलमा समाचार हेर्न तल Like गर्न नभुलौः
अध्यक्ष प्रचण्डका अन्तर्वार्ताहरुको सँगालो राजनीति शास्त्रका विद्यार्थी, नेपाली समाज र राजनीतिमा अनुसन्धान गर्न चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता र नेपाली राजनीतिका बारेमा चासो राख्ने सबैका लागि उपयोगी हुने विश्वास प्रकाशकको छ । प्रस्तुत पुस्तक प्रकाशनका निम्ति अहोरात्र खट्नुहुने पार्टीका नेता, कार्यकर्ता र सचिवालयका सम्पूर्ण सदस्यहरुमा अध्यक्ष प्रचण्डले धन्यवाद दिनुभएको छ ।
त्यसैगरी उहाँले विभिन्न समयमा तात्कालिक विषयहरुमा पार्टीका धारणा र वर्तमान राजनैतिक परिस्थितिका बारेमा अन्तर्वार्ता लिएर नयाँ राजनीतिक विश्लेषण र विचार निर्माणमा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण सञ्चारकर्मी पत्रकार मित्रहरुमा आभार प्रकट गर्नुभएको छ । साथै, पुस्तक प्रकाशनका निम्ति घच्घचाउने वुद्धिजीवि, समाजसेवी र शुभेच्छुकहरुमा कृतज्ञता पनि व्यक्त गर्नुभएको छ,’ प्रकाशकले आज एक विज्ञप्ती मार्फत भनेको छ ।
प्रज्ञा स्मृति प्रतिष्ठानले प्रकाशन गरेको प्रस्तुत पुस्तकमा ४०८ पृष्ठ रहेका छन् भने यसको मूल्य रु. ५५० रहेको छ । पुस्तक राजधानी काठमाडौं लगायत देशका विभिन्न सहरहरुका पुस्तक पसलहरुमा उपलब्ध रहेको प्रज्ञा स्मृति प्रतिष्ठान नेपालले बतायो ।