मैनामैनीमा बिजुली बलेसँगै बेलकाको सबै वडा झिलिमिलि

ललित राई
उदयपुर । उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीमा बिजुली बत्ति बलेसँगै नगरपालिकाको सबै वडा झिलिमिलि भएको छ । बर्षौदेखि अन्धकारमा रहेको सो वडाको बस्तिहरुमा शुक्रबार साँझबाट बिजुली बत्ती बल्न थालेपछि नगरपालिकाको सबै बस्तिहरु भिलिमिलि भएको हो । नगरपालिकाभित्र ९ वटा वडा रहेका छन् ।

वडामा नेपाल सरकारको ९० प्रतिसत रकम रहेको १२ करोड ६० लाख र स्थानिय बेलका नगरपालिकाको १० प्रतिसत बरावरको रकम रहेको एक करोड ४० लाख गरी कुल १४ करोड रुपैयाको लागतमा बत्ती बालिएको हो । बिद्युत बिस्तारको काम कस्मिक ईन्जिनियरीङ प्रालिले ठेक्काप्रणाली मार्फत गर्दै आएको ठोक्सिला उर्जा तथा ग्रामीण बिकास केन्द्रका सचिव रमन भट्टराईले बताए ।

सचिब भट्टराईका अनुसार बिद्युत बिस्तारको काम सबै सम्पन्न भएपछि बत्ति बालेर बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा ‘स्स्वस्ती’, उप प्रमुख राजकुमारी चौधरी लगायत स्थानीय नेताहरुले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उद्घाटन मैनामैनीको मुलगाउँ स्थित बिद्युत ट्रान्सफर्मरमा जोडिएको ‘स्वीच’ लाई अन गरेर गरिएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै मेयर थापाले दिपावलीको कोसेली स्वरुप मैनामैनीवासीका लागि एम्बुलेस पनि प्रदान गरिने जानकारी गराएका थिए । उनले एम्बुलेस पनि १५ दिन भित्र आईपुग्ने समेत बताए । एम्बुलेस सुत्केरी आमाहरुका लागि निःशुल्क हुने छन् ‘मेयर थापाले भने’ बिपन्न, असाह्य र अपाङ्गहरुका लागि पनि वडा कार्यालयको सिफारिसमा निःशुल्क गरिने छ ।

कार्यक्रममा बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा ‘स्स्वस्ती’, उप प्रमुख राजकुमारी चौधरी, वडाध्यक्ष सुरेन्द्र राई, कार्यपालिका सदस्य तारा राई, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बेलका अध्यक्ष मनोज तामाङ, नेपाली कांग्रेसका प्रतिनिधि कमनध्वज राई, नेकपा जिल्ला सदस्य उदय प्रसाद अधिकारी लगायत स्थानीयहरुको बाकुलो उपस्थिति रहेको थियो ।

भिडियोः

Facebook Comments