उदयपुरमा ३० हजार महिलालाई स्वास्थ्य सामग्री सहयोग

उदयपुर । लकडाउनबाट प्रभावित ३० हजार महिलालाई लक्षित गरी युएनएफपिएले जिल्ला अस्पताल उदयपुरलाई आपतकालिन विपद् सामग्री सहयोग गरेको छ । अनिच्छित गर्भधारण रोक्न र प्रसुति कार्यलाई प्रभावकारी बनाउन युएनएफपिएले ३० हजार महिलालाई तीन महिनासम्म पुग्ने गरी सोमबार प्रजनन् स्वास्थ्य किट अस्पताललाई उपलब्ध गराएको हो ।

लकडाउनको महामारीमा पनि मासिक दुई सय जना महिलालाई सेवा प्रवाह गर्दै आएको अस्पतालमा प्रजनन् स्वास्थ्य किट लगायतका स्वास्थ्य सामग्रीको अभाव भएको जनगुनासो बढ्न थालेपछि सामग्री सहयोग गरिएको युएनएफपिएका जिल्ला कार्यक्रम अधिकृत केदार राना मगरले बताए । उनले यौनिक हिंसामा परेका खासगरी बलात्कृत महिलाको उद्धार, सुरक्षित गर्भपतन, प्रसुति सेवालाई प्रभावकारी बनाउन ६ देखि ९ नम्बरसम्मको किट उपलब्ध गराएको बताए । सामग्री अभाव भए अझ थपिने उनको भनाई छ ।

जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेट डा. जिवनारायण मण्डलले विपद्को अवश्थामा रहेका महिलाको सुरक्षाका लागि चाहिने औषधि लगायतका स्वास्थ्य सामग्री माथिल्लो निकायबाट आउन ढिलाई भएकाले सहयोग मागिएको बताए । उनले नर्मल डेलिभरी, पारिवारिक योजना (फेमेलिङ्ग प्लानिङ्ग), जटिल प्रकृतिको प्रसुति, अप्रेशन, सुत्केरीको व्यथा लगाउने सामग्रीहरु उपलब्ध भएको बताए ।

मेसु मण्डलका अनुसार ६ नम्बर किट नर्मल डेलिभरी, आईरन चक्कि, बेटाडिन, ७ नम्बरबाट फेमेलिङ्ग प्लानिङ्ग अर्तगत कपरडी राख्ने सेवा लिन सकिने छ । त्यस्तै ८ नम्बर किटले आफै गर्भपतन भएको अवश्थामा रक्तश्राव नियन्त्रण र भित्र अडकिएका फोहोरहरु सफा गर्ने र ९ नम्बर किटले पाठेघर च्यातिएको अवश्थामा त्यसलाई सहज बनाउने काम गर्ने उनले बताए ।

आपतकालिन विपद् सामग्री बुझ्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले लकडाउनको परिस्थितिमा त्यसमा पनि विपद्मा परेका महिलाका लागि गरिएको सामग्री परिणाममुखी हुने विश्वास व्यक्त गरे ।महामारीको विपत्तीको खडीमा संस्थाले गरेको सहयोग अतुलनिय रहेको भन्दै उनले जिल्लामा मात्र नभई कटारी अस्पताल लगायतका स्वास्थ्य केन्द्रसम्म सामग्री उपलब्ध गराई दिन हुन अनुरोध गरे ।

उनले उपलब्ध सामग्री पूर्णरुपले उपयोग हुने विश्वास दिलाउँदै कोरोना भाईरस तत्काल नियन्त्रणमा आउने अवश्था नरहेकाले तीन महिना पछि पनि सहयोगलाई निरन्तरता दिन अनुरोध छ । युएनएफपिएले महामारीको समयमा लैङ्गिक हिंसा, अनिच्छित गर्भ, असुरक्षित गर्भपतन, स्थायी साधनको अभाव, फेमेलिङ्ग प्लानिङ्ग वेगर गर्भ रहने जस्ता कार्यहरु बढ्दै गएको भन्दै विभिन्न कार्यक्रममार्फत सहयोग गर्दै आएको छ ।

Facebook Comments