बलात्कार आरोपी सिद्धबाबाद्वारा अदालतमा आत्मसमर्पण

 सुनसरी । बलात्कार आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीले अदालतमा आत्मसमर्पण गरेका छन् । आरोप लागेकै अवस्थामा भारततर्फ फरार भएका भनिएका उनले नेपाल फर्किएर मंगलबार जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले सिद्धबाबा अदालतमा उपस्थित भएको जानकारी दिए । एक अनुयायी महिला बलात्कार गरेको आरोप लागेका उनलाई विराटनगर उच्च अदालतले गत माघ दोस्रो साता पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

गिरीविरुद्धको मुद्दाको पेसी उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासमा चलिरहेका बेला सिद्धबाबा सुरक्षा संयन्त्रलाई झुक्याएर भारत पसेका थिए ।

सिद्धबाबाको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले हबल्दार मुकेश साहसहितको टोलीलाई खटाएको भएपनि सीमावर्ती क्षेत्र रानीबाट भारतीय बजार जोगवनी पुगेका गिरीले सुरक्षाकर्मीलाई फिर्ता पठाएर भारत पसेका थिए ।

 जिल्ला अदालत सुनसरीले गिरीलाई तीन लाख धरौटीमा छोड्न आदेश दिएपनि उच्च अदालतले उक्त आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । उनलाई अदालतको आदेश बमोजिम आजै जेल चलान गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *