उदयपुर । लक्ष्मण थारु नेतृत्वको थारुहट थारुवान राष्ट्रिय मोर्चाले आव्हान गरेको तराई बन्दको कारण मंगलबार उदयपुरको जनजीवन प्रभावित भएको छ । टीकापुर घटनालाई लिएर १४ बुद्धे माग सहित मोर्चाले तराई बन्दको आव्हान गरेको थियो ।
बन्दको कारण सदरमुकाम गाईघाट लगायत मुख्य व्यापारीक केन्द्र कटारी, मुर्कुची, बेल्टार र रामपुरसँगै ग्रमीण क्षेत्रबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका यातायातका साधन चलेका छैनन् ।
विद्यालय, कलकारखाना बन्द छन् । बजार पसल बन्द हुँदा सर्वसाधरणले सास्ती खेप्नु परिरहेको छ । सदरमुकाम गाईघाट बजारमा सामान्य चिया, औषधी र तरकारी पसल खुलेपनि व्यापार व्यवसाय चलेको छैन् । सडकमा फाटफुट साईकल, मोटरसाईकल कुदेका छन् ।
एम्वुलेसन्स र औषधी पसलमा अवरोध नगरेका कारण निर्वाध रुपमा चलिरहेका छन् । बिहानैदेखि बजारमा बन्दिकर्ताहरुको बाकुलो उपस्थिति देखिएपनि कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । मोर्चाले फागुन २० र २१ गते (दुई दिन) तराईको २४ जिल्लामा बन्दको आव्हान गरेको छ ।