



त्रियुगा । पैसा कमाउन गलत बाटो रोज्नु पर्छ र विदेशी मरभुमिमा पुग्नु पर्छ भन्ने छैन् । त्यति मात्र हैन व्यवसाय गर्न राज्य वा अन्य कुनै निकायले सहयोग दिन्छ र केही गरौला भन्ने आश गर्नु पर्छ भन्ने पनि छैन् । स्वदेशमै थोरै पैसा, मेहनत र लगनसिल भए परिवारसँग रमाउँदै लखपति बन्न सकिन्छ । जसको उदाहरणका पात्र हुन् उदयपुरको त्रियुगा नगरपालिका १४ नेपानेका ३८ बर्षिय रामकुमार राई ।
उनीसँगका धेरैजसो साथी मासिक २० देखि ५० हजार कमाउन विदेशको तातो घाममा परिवारलाई विर्सेर परिश्रम गर्न बाध्य छन् भने कोही गलत बाटो रोजेर जेल जीवन विताई रहेकाछन् । विदेश र जेल जीवनबाट आफु कसरी जोगिए भन्ने घरी–घरी उनीमा त्यो प्रश्न आउने गर्दछ । र भन्छन्, ‘अतितलाई सम्झने हो भने आफु कुन ठाउँमा छु र साथीहरुको जीवन कसरी वितिरहेको भन्ने कौतुहल हुन्छ । यी सबै बिर्सिएर रामकुमार २०६८ सालदेखि निरन्तर बाख्रापालन व्यवसायमा छन् ।
उनको आधुनिक किसिमा तीन वटा खोरमा अहिलेपनि बाख्रा, बोका र पाठापाठी गरी तीन सय बढि छन् । पालेका एक सय ७६ माउँ बाख्राले बार्षिक सरदर चार सय पाठापाठी उत्पादन गर्दै आएको उनी बताउँछन् । यहीँ पेसामा निर्भर रहेका रामकुमार बार्षिकरुपमा २० लाखको हाराहारीमा कारोबार गर्ने गर्दछन् । भन्छन्, ‘बर्षमा ३ पटकसम्म विक्री गर्छु, सबै खर्च कटाएर बार्षिक १५ लाख रुपैँया आम्दानी हुन्छ । त्यहीँ आम्दानीबाट उनको ७ जना परिवार र दुई जना स्टाफ धानिएको छ ।
तीन लाख लगानीबाट सुरु गरेको उनको पेसा अहिले २० लाख रुपैँया पुगिसकेको छ । व्यवसायिकरुपमा बाख्रापालन पेसा सुरु गरेका उनले बाख्रा र पाठापाठीलाई नुहाउनका लागि स्नान घर र बारीभरी बिकासे डाले घाँसहरु लगाएका छन् । परम्परागत खेतीबाट परिवार चलाउन मुस्किल परेको र आम्दानी पनि नहुने भएपछि खेतीलाई त्यागी बाख्रापालनमा लागेको उनी बताउँछन् ।
व्यवसाय सुरुसँगै यसको दिगोपनाका लागि रामकुमार र पत्नि जिनाकुमारी राई (मगर)ले आलोपालो गरी पशुभेटनरी अध्ययन गरिसकेका छन् । पशुचौपायमा बेलामौकामा विभिन्न रोगहरु भित्रिदा खोरमै धमाधम मर्ने गरेकाकारण त्यसको नियन्त्रणका लागि दुबैले पशुचिकित्सा अध्ययन गरेको जिनाले बताईन् ।
उनी भन्छिन्, ‘गाउँमा प्राविधिकको अभावमा सुरु–सुरुमा बाख्रा विरामी हुँदा झण्डै तीस किलोमिटर पर सदरमुकाम गाईघाट झर्नु पर्दथ्यो, त्यहीँ पनि टाढा परेकाले प्राविधिक नसुन्ने, आलटाल गर्ने, भनेको समयभन्दा २÷४ दिन ढिला गर्ने र उपचार खर्चसमेत मोटो रकम लिने गरेकाकारण आफैले अध्ययन गरेका हौ ।
अध्ययन गरेकैकारण ठुला महामारीवाहेक सानातिना विरामीको उपचार आफुहरुबाटै सम्भव भएको जिना बताउँछिन् । ‘बेलामौकामा रोग लाग्न नदिनका लागि पिपिआर, खोरेत जस्ता भ्याक्सीन र औषधिउपचार गर्न अन्य प्राविधिकको मुख ताक्नु पर्दैन । उनीहरुको प्राविधिक क्षमताले गाउँछिमेकमासमेत सहज भएको छ ।
गाउँघरमा पशुचौपाय विरामी भए आफुहरुलाई नै बोलाउने गरेको रामकुमार बताउँछन् । निरन्तर पेसामा रहेका रामकुमार, मासिक एक लाखसम्म कमाउन विदेश जानै नपर्ने युवाहरुलाई सुझाब दिन्छन् । भन्छन्, ‘विदेशमा गरेको दुःख गाउँघरका लागि केहि हैन्, त्यहाँ गर्ने गरेको परिश्रम स्वदेशमै गर्न सके सुन फलाउन सकिन्छ ।
आकर्षणमा वोयर जातको बाख्रा र वोका
रामकुमारले पालेका बाख्रा र बोकामध्ये सुर्खेतबाट ल्याएको वोयर जातको वोका र बाख्रा आकर्षित रहेको छ । उनले ५० केजी रहेको वोयर वोका दुई लाख ७६ हजार रुपैँयामा सुर्खेतको अस्मिता फर्मबाट खरिद गरेको बताए । त्यसैगरी प्रति केजी एक हजार रुपैँयाका दरले तीन वटा उक्त जातीका बाख्रा एक लाख सात हजारमा खरिद गरेको सुनाए ।
राईले खसीभन्दा पनि बोका र पाढी उत्पादन गरी विक्री गर्ने गरेका छन् । यसरी उत्पादन गरेको एउटै बोका २५ हजार मुल्यसम्ममा विक्री गरेको बताए । ९ बर्षदेखि निरन्तर बाख्रापालन व्यवसायमा रहेका राई परिवारलाई हालसम्म कुनैपनि अनुदान दिने निकायको नजर परेको छैन् । रामकुमार भन्छन्, ‘धेरै पटक अनुदान र ऋणका लागि सदरमुका लगायत सरोकारवाला निकायसँग धाए, तर आश्वसन मात्र पाए, व्यवहारमा केहि देखिएन, त्यसैले आफैले गाउँघरमा सरसापटक खोज्दै व्यवसायमा बृद्धी गरेको छु ।