निरन्तर वर्षाको बाढीले उदयपुरमा १ बेपत्ता, हजारौँ घर डुबानमा

उदयपुर । निरन्तर परेको वर्षाको बाढीले उदयपुरमा १ जना बेपत्ता पारेको छ भने ५ सयभन्दा बढी घरधुरीलाई डुबानमा पारेको छ । अहिले जिल्लाको सदरमुकाम गाईघाट बजार नै बाढीको जोखिममा रहेको छ । त्रियुगा नगरपालिका ११ साकेलाटोलस्थित बरुवा बाँध फुटेसँगै गाईघाट बजार जोखिममा परेको हो ।

सबै संभावित जोखिमयुक्त ठाउँमा प्रहरी, सशस्त्र र स्थानीय परिचालन भई सुरक्षा र उद्धरमा खट्ने काम भईरहेको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका ४ ससाहास्थित लामा खोलाबाट एकजना बेपत्ता भएका छन् भने १० जनाको उद्धार गरिएको छ । खोलाछेउमा सञ्चालित क्रसरमा बस्दै आएका ११ मजदुरमध्ये १० जनालाई सकुशल उद्धार गरिएको तर, एकजना भने खोलाले बगाएर बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ध्रुब खड्काले बताएका छन् ।

खोलाले कुकुरलाई बगाएपछि कुकुर बचाउन गएका बेला नाम ठेगाना थाहा नभएका २५÷२६ वर्ष उमेरका तामाङ थरका क्रसर हेरालुलाई पनि बाढीले बगाएर बेपत्ता पारेको खड्काले बताएका छन् । चौदण्डीगढीकै ५ नं. वडा सुन्दरपुरस्थित त्रियुगाको पुरानो बाँध भत्कदा बेल्ही गाउँका ५६ घरधुरी डुबानमा परेको छ ।

डुबानमा परेका सबैलाई सकुशल उद्धार गरी बेल्ही निमाविको भवनमा सुरक्षित गराइएको र भत्केको बाँध रोकथामका लागि जनपथ र सशस्त्र प्रहरी बलको टोलीसँगै स्थानीयलाई परिचालन गरिएको चौदण्डी नगरप्रमुख खगेन्द्र राईले बताए । उनका अनुसार नगरपालिकाका अधिकतर वडाहरु डुबानमा परेका छन् भने जताततै डुबान र बाढीका कारण उद्धारमा समस्या भईरहेको छ ।

उता बेलका नगरपालिका २ तपेश्वरीस्थित त्रियुगाको बाँध फुटेर २ सय ५० घरधुरी डुबानमा पारेको बेलका नगरप्रमुख दुर्गाकुमार थापाले बताएका छन् । उनले डुबान धेरै भएकाले डुंगा र प्लास्टीक बोटको व्यवस्था गरेर आपतमा परेकालाई उद्धार गर्ने काम भईरहेको बताएका छन् । त्रियुगाको बाँध पुरानो भएकाले बाढीले सहजै भत्काएर खोला गाउँ पसेपछि डुबानको समस्या आईपरेको थापाको भनाई छ ।

डुबानमा परेकाहरुको उद्धारका लागि स्थानीय प्रहरी चौकी र सदरमुकामबाट सशस्त्र र जनपथ प्रहरीको थप टोली खटाएर उद्धार कार्य जारी राखिएको छ । सदरमुकाम गाईघाटका सयौं घर पसल डुबानमा परेर असुरक्षित बनाएको छ । गाईघाट बजारको शीर मानिएको साकेलाथान र ढिम्की क्षेत्रस्थित बरुवा खोला फुट्ने संभावना बढेपछि स्थानीय प्रशासन र नगरपालिकाले घरलौरी बालुवा लिएर रोकथामका लागि जनपरिचालन गरिरहेको जनाएको छ ।

साकेलाथानस्थित बरुवा बाँध पुरानो भएकाले गतवर्ष पनि आधा भत्काईसकेका बेला मर्मत गरिएको थियो । यो वर्ष पनि सुरुकै बाढीले भत्काउने खतरा बढेपछि तत्काल काम चलाउ मर्मत गर्दै दीर्घकालीन सुरक्षाका लागि स्थानीय प्रशासनले सरकार र नगरपालिकाको ध्यानाकर्षण गराएको प्रजिअ खड्काले बताए ।

उता पहाडी गाउँपालिका ताप्ली ५ स्थित यारी खोलामा बाँधिएको ३ सय मिटर बाँध भत्काएर कुमालटारस्थित हजार रोपनीभन्दा बढी खेत बगाएको स्थानीयले बताएका छन् । गतवर्ष र यसवर्ष नदी नियन्त्रण कार्यालय जनकपुरको ४५ लाख मूल्यको लागतमा बाँधिएको बाँध बाढीले भत्काउँदै पाकेर भित्र्याउन तयार भएको दर्जनौं घर परिवारको धानसहित खेत कटान गरेको स्थानीय लक्ष्मी पोखरेलले बताएका छन् ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *