अग्नीपीडतलाई सरकार र व्यक्तिको राहत सहयोग

उदयपुर । उदयपुर रौतामाई गाउँपालिका २ डुम्रेका अग्नीपीडितलाई आईतबार राहत उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालय, गाउँपालिकाका, वडा कार्यालय, नेपाल रेडक्रस सोसाईटी, गैरसरकारी संस्था र स्थानीयबासीले राहत उपलब्ध गराएका हुन् ।गाउँपालिका र नगरपालिकाले प्रति घरधुरी नगद १०÷१० हजार, नेपाल कम्युनिष्ट पार्टीका नेता तथा गाउँपालिकाका प्रमुख सल्लाहकार अम्बरबहादुर रायमाझीले जनही २ हजार ५ सय, अर्का नेता कैलाश बस्नेतले जनही १ हजार गरी २३ हजार ५ सयका दरले वितरण गरिएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले जानकारी दिए ।

बस्ति नै सखाप हुने गरी भएको आगलागीमा गाउँपालिकाले पीडितहरुलाई अस्थायी घर बनाउन त्रिपाल, ओढ्नका लागि कम्मल, सशस्त्र प्रहरी गण बोक्से, रेडक्रस, शान्ति समाज केन्द्र, त्रियुगा उद्योग बाणिज्य संघ, वडा कार्यालय र स्थानीयबासीले चामल, नुन, तेल, लत्ताकपडा, भाडावर्तन जस्ता अतिआबश्यक सामग्री उपलब्ध गराएको खड्काले बताए । त्यसैगरी गाउँपालिकाका उपाध्यक्ष कुमारी राना ठकुरीले बालबालिकाका शैक्षिक सामग्रीसमेत जलेर नष्ट भएकाले शैक्षिक सामग्री उपलब्ध गराएकी छिन् ।

आगलागी पीडितलाई राहत रकम र अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन सदरमुकाम गाईघाटबाट गाउँपालिकाका अध्यक्ष खड्का, प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्की, सशस्त्र प्रहरी प्रमुख एसपी जयबहादुर खड्का, पार्टीका नेता, संघसंस्थाका प्रमुख तथा प्रतिनिधिसहतिको टोली आईतबार दिउँसो पुगेका थिए । प्रजिअ कार्कीले अग्निपीडितलाई मलमपट्ट्ी लगाउन आफु नै स्वयंम उपस्थिति भई राहत उपलब्ध गराएको बताए । उनले भने, ‘गाँस, बाँस, कपास सबै गुमेकाले विचलित हुन नदिन आफै उपस्थिति भएर सहयोग गरेका हौ । शनिबार दिउँसो भएको भीषण आगलागीबाट पाँचवटा घर, गाई, गोरु, खसी र बाख्रा गरी ५४ वटा जलेको वडानं २ का अध्यक्ष खविन्द्र रास्कोटीले बताए ।

आगलागीबाट खोरमा थुनेर राखिएका खसी र बाख्रा मात्रै ४६ वटा जलेको उनले बताए । आगलागीबाट कमल कार्की, ज्ञानबहादुर कार्की, राजेन्द्र कार्की, विदुर कार्की र दीपक कार्कीका पाँचवटा घर र सातवटा गोठ जेलर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए । दिउँसो १ बजे कमल कार्कीको घरबाट आगो सल्किदा नजिकमा रहेका अन्य चार घरसमेत जलेको थियो । आगोले एक घण्टाभित्रै पाँचवटा घर र सातवटा गाई, गोरु बाँध्ने गोठ जलेर ध्वस्त भएको राईले बताए ।

आगोले कमलको एउटा घर, दुईवटा गोठ, विदुरको एउटा घर र एउटा गोठ, दीपकको एउटा घर र दुईवटा गोठ, राजेन्द्रको एउटा घर र एउटा गोठ तथा ज्ञानबहादुरको एउटा घर एउटा गोठ जलेर नष्ट भएको गाउँपालिकाका उपाध्यक्ष कुमारी राना ठकुरीले बताईन् ।
घटनामा ६६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । हावा चलिरहेका कारण लहरै रहेका घरमा आगो चाँडो फैलिएर ठूलो क्षति पु¥याएको प्रहरीको भनाइ छ । आगोले काठबाट बनेका परालको छाना भएका घर तथा भित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, नगद, सुनचाँदी, महत्वपूर्ण कागजपत्र लगायत सबै धनमाल जलेर नष्ट भएको एसपी राईले बताए ।

प्रहरीले स्थानीय र जनप्रतिनिधिको सहयोगमा साँझ ७ बजे मात्रै आगो पूर्णरुपमा नियन्त्रणमा लिएको थियो । गाउँपालिकासँग आगो निभाउने दमकल नभएको र वरपर पानीका कुनै स्रोत नभएका कारण आगोबाट ठूलो क्षति पुगेको प्रहरीको भनाइ छ । गाग्रोमा पानी बोकेर र माटोको प्रयोग गरेर नियन्त्रणको प्रयास गरिए पनि समयमै नियन्त्रणमा लिन नसक्दा आगोले सबै ध्वस्त बनाएको उपाध्यक्ष ठकुरीले बताईन् । प्रहरीले आगलागीको कारण खुल्न नसकेको जनाउँदै कमलको चुल्होमा बालेको आगो घरमा सल्किएको हुनसक्ने आशंका गरेको छ । आगलागी पीडितलाई तत्कालका लागि स्थानीय हर्रोभन्ज्याङ आधारभुत विद्यालयमा राखिएको छ ।

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *