उदयपुर । आन्तरिक पर्यटन समृद्धिका लागि फोटो पत्रकार महासंघ शाखा उदयपुरले त्रियुगा नगरपालिकालाई फोटो हस्तान्तरण गरेको छ । देशभर छरिएर रहेको फोटो पत्रकारहरुको छाता संगठन राष्ट्रिय फोटो पत्रकार महासंघ उदयपुर शाखाले त्रियुगा नगरपालिकाको नगर प्रमुख बलदेव चौधरीलाई १६ वटै वडाको फोटो हस्तान्तरण गरेको छ । नगर क्षेत्रभित्रको आर्थिक, धार्मिक, सामाजिक, ऐतिहासिक तथा आन्तरिक पर्यटन उत्प्रेरणामा सहयोग पुग्ने ध्यानाकर्षणमूलक फोटोहरु नगरप्रमुख चौधरीलाई हस्तान्तरण गरेको हो ।
नगरपालिकाको १६ वटै वडाबाट धार्मिक, ऐतिहासिक तथा पर्यटकीय हिसावले महत्वपूर्ण मानिएका स्थलहरुको तस्विर सहित फ्रेमिङ गरी हस्तान्तरण गरिएको फोटो पत्रकार महासंघ उदयपुरका सचिव देबराज राईले जानकारी दिए । संकलित तस्विरहरु शाखाका अध्यक्ष गजेन्द्र राईले नगर प्रमुख चौधरीलाई एक समारोह बीच हस्तान्तरण गरेका हुन् । संकलित तस्विर बुझ्दै नगर प्रमुख चौधरीले आन्तरिक पर्यटनका लागि नगरपालिकाले पहल जारी राख्ने बताए ।
‘हामी बिभिन्न देशको बिदेशी फोटोहरु सजाएर राख्थ्यौँ’ नगर प्रमुख चौधरीले भने ‘तर, त्यो भन्दा उत्कृष्ट फोटोहरु आफ्नै नगरपालिकाभित्रको खुशी लाग्यो । उनले भने स्थानीय आकर्षक फोटोहरु कार्यालयमा सजाउन पाउँदा गौरवाम्बित भएको महशुस भइरहेको छ । सो क्रममा नगर प्रमुख चौधरीले फोटोहरुले नगरको वास्तविक चित्रण गरेको र ती फोटोहरुमा भएका क्षेत्रहरुको विकास, प्रबद्र्धन र जीर्णोद्धारमा रहेका एतिहासिक स्थलको संरक्षण गर्ने बताए । नगरपालिकालाई हस्तान्तरण गरिएका तस्विरहरु नगरपालिकाको आर्थिक सहयोगमा संकलन गरिएको सचिव राईले बताए । तस्विरहरु राजधानीको भृकुटीमण्डपमा आयोजित अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा समेत राखिएको थियो ।