गरीबहरु ढुंङ्गा चपाउँदैनन्

कविता

गरीबहरु ढुंङ्गा चपाउँदैनन्
पराले छाप्रोको
भत्कँदो बासस्थानमा बसे पनि
गृष्माको खडेरीले
पूरै शरीर डढाए पनि
गरीबहरु ढुंङ्गा चपाउँदैनन्
पौरख चलाउँछन्
पाखुरी बजाउँछन्
पसिनाको व्यञ्जन गर्छन् बरु
मोतिमय विराट तरङ्ग समातेर
पौडन्छन् स्वाभिमानी पसिनाको सागरमा
तर किमार्थ
चपाउँदैनन् गरीबहरु ढुंङ्गा

पिजडातुल्य गगनचुम्बी महल
चुलियोस् या भत्कियोस्
बेमतलबी श्रमका धनीहरु
सन्तोष छन् आफ्नै पाराले छाप्रोमा
माया, ममता र स्नेहले बनेको
साँघुरो छाप्रोमा नै रमाउँछन्
बरु खान्छन् खोले फाँडो
चपाउँदैनन् गरीबहरु ढुंङ्गा
न कि ढुंङ्गा चपाउनेको उपज होइन
ढुंङ्गा सामन्तवादको बोधी चेतनामा
हान्नको खातिर हो
गरीबहरु प्रकृति गोडमेल गर्छन्
प्रकृति गरीबहरुको
जीवन बाँन्छिन्
त्यसैले त चपाउँदैनन् गरीबहरु ढुंङ्गा
स्वाभिमानी गरिबहरु
स्वावलम्बीपनमा जिउँछन्
अर्काको पसिना लुट्दैनन्
समाज बचाउने गरीबहरु
राष्ट्र बोक्ने श्रमका पुजारीहरु
सिंचिन्छन् आफ्नो रगत र पसिना
देशको माटोभरि
समर्पण गर्छन् देशको खातिर
सुन्दर जीवन र भविष्य
अतः गरीबहरु ढुंङ्गा चपाउँदैनन्
स्वाभिमानी गरीबहरु ढुंङ्गा चपाउँदैनन् ।

सम्झना राई “असफल”
त्रियुगा नगरपालिका गाईघाट, उदयपुर
लेखिकाको हालै प्रकाशित कविता सङ्ग्रह “रातो गुलाव” बाट ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *