दवाबमा कांग्रेस : लोकतान्त्रिक गठबन्धनमा भागबण्डा मिलाउन सकस

काठमाडौं– नेपाली कांग्रेसको नेतृत्वमा ६ राजनीतिक दलहरुवीच ‘लोकतान्त्रिक गठबन्धन’ बनाएर चुनावमा जाने सैद्धान्तिक सहमति भएपनि गठबन्धनमा सहभागी भएका राजनीतिक दलहरुलाई चित्त बुझाउन नेतृत्वकर्ता कांग्रेसलाई कठिन हुने देखिएको छ ।
लोकतान्त्रिक गठबन्धनको कार्यदलले छ वटै दलका प्रतिनिधिको सुझावका आधारमा साझा अवधारणा बनाएर निर्वाचन क्षेत्र र सिट बाँडफाँड गर्ने जनाएको छ । सिट बाँडफाँडका लागि गठबन्धनभित्रै आजैबाट छलफल सुरु हुने नेताहरुले बताएका छन् । तर, प्रतिनिधिसभाको १६५ सिटमध्ये साना दलहरुले बढि सिट मागेपछि कांग्रेसलाई यसबारे निर्णय गर्न दवाव बढ्नुका साथै कठिनाई भइरहेको बताइएको छ ।
कसले कति मागे ?
लोकतान्त्रिक गठबन्धनमा कांग्रेससहित राजपा नेपाल, संघीय समाजबादी फोरम, फोरम लोकतान्त्रिक, राप्रपा र राप्रपा प्रजातान्त्रिक छन् ।
अहिले संसदमा १९ सांसद रहेको राप्रपाले १५, १८ सांसद रहेको राप्रपा प्रजातान्त्रिकले २० सिट सुरक्षित हुनुपर्ने माग गरेका छन् । त्यस्तै राप्रपा र राप्रपा प्रजातान्त्रिकको तुलनामा राजपा, संघीय फोरम र फोरम लोकतान्त्रिकले पनि आफूहरुलाई २० सिट माथिको दावी गरेका छन् । यहि रेसियोमा प्रतिनिधिसभाको १६५ मध्ये ९५ सिट अरुदललाई दिनुपर्ने भएपछि कांग्रेस दवावमा परेको छ । यसरी दिँदा बाँकी ७० सिटमात्रै कांग्रेसको भागमा रहन्छ । तर, कांग्रेसका तर्फबाट कार्यदलमा रहेका कांग्रेस नेता मिनेन्द्र रिजालले समचारमा आएका कुराहरु आधिकारिक नभएकाले त्यसलाई आधार मान्न नसकिने प्रतिकृया दिए । उनले भने, ‘कुनैपनि दलले लिखित रुपमा यति सिट चाहिन्छ भनेर अहिलेसम्म नभनेको तथा त्यस्तो अवधारणा नै नआइसकेकोले त्यस्तो भनाईलाई विश्वास गरिहाल्न मिल्दैन ।’ नेता रिजालले कुनैपनि दलले जतिसक्दो धेरै सिट सुरक्षित गर्न खोज्नुलाई अन्यथा लिन नमिल्ने पनि बताए ।
राजपा र संघीय फोरमको छुट्टै गठबन्धन 
कांग्रेस नेतृत्वमा बृहत लोकतान्त्रिक गठबन्धन बनेको दुई दिनमै गठबन्धनभित्रकै दुई दलबीच अर्को छुट्टै गठबन्धन बनेपछि बृहत लोकतान्त्रिक गठबन्धन शसंकित बनेको छ । राजपा र संघीय समाजबादी फोरमले दुइदलबीच चुनावी गठबन्धन गरिसकेका पछि उनिहरुले आफ्नो नेतृत्वको गठबन्धन तोड्ने त हैन भनेर कांग्रेस सशंकित बनेको हो । यद्यपी कार्यदलमा रहेका सदस्यहरुले भने त्यसबारे अहिले केही नसोचेको बताएका छन् । राजपा र संघीय समाजबादीले अन्य दलसँग चुनावी तालमेल गर्नुपरेपनि सँगै गर्ने यसअघि नै जनाइसकेका छन् । मधेसमा राम्रै पकड राख्ने यी दुइ दलले लोकतान्त्रिक गठबन्धनविनै पनि चुनावमा होमिन सक्ने निश्कर्ष निकालिसकेका छन् ।
छिट्टै साझा अवधारणा ल्याउँछौ –रिजाल
लोकतान्त्रिक गठबन्धनमा रहेका सबै दलल आ–आफ्ना तर्फबाट चुनावका लागि अवधारणा बनाउने काम भइरहेको बृहत लोकतान्त्रिक गठबन्धनमा कांग्रेसका तर्फबाट सहभागि डा मिनेन्द्र रिजालले बताएका छन् । उनले पहिला आ–आफ्नो पार्टीका तर्फबाट अवधारणा बनाउने र त्यसपछि त्यसलाई समेटेर संयुक्त रुपमा  बाहिर ल्याउने काम भइरहेको समेत बताए । रिजालले भने, ‘यति नै समय भन्ने छैन जतिसक्दो चाडो साझा अवधारणा तयार गरिनेछ ।’ त्यस्तै कार्यदलमा सहमति जुटेपछि संयुक्त हस्ताक्षरसहित बाहिर ल्याउने तयारी भइरहेको संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले जानकारी दिए ।
तीन दलको धारणा समान
गठबन्धनमा रहेका मधेशवादी दल नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको धारणा मधेश सन्दर्भमा एउटै रहेको छ । उनिहरुले सविधान संशोधन, तराई मधेशमा रहेको सबै प्रकारको विभेद अन्त्य, राज्यको हरेक अंगमा समावेशी समानुपातिक हुनुपर्ने, मधेश आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै विभेदको अन्त्य र पहिचान स्थापित गराउनका लागि सविधान संशोधन गर्नुपर्ने लगायतका धारणा तय गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *