



उदयपुर, १९ भदौ । स्थानीय युवालाई उद्यम बनाउन जिल्ला युवा समिति उदयपुरले सोमबार ३ वटा युवा समुहलाई १५ लाख रुपिँया विना व्याज ऋण प्रवाह गरेको छ । युवा उद्यम कार्यक्रमअन्र्तगत समितिले १ निर्वाचन क्षेत्र १ समुहको अवधारणअनुसार जिल्लाका ३ वटा निर्वाचन क्षेत्रमा ५ लाखका दरले सहकारीमार्फत धितो वेगर कागजकोभरमा ऋण दिइएको हो ।
समितिले १६ देखि ४० बर्ष ननाघेका युवालाई स्वदेशमै बसी कृषि क्षेत्रको विकाससँगै उद्येमी बनाउने उदेश्यअनुरुप पहिलो बर्षको कार्यक्रमबाट लगानी गरिएको अध्यक्ष खगेन्द्र पोखरेलले बताए । १० जना युवा सम्लग्न रही बनाइएको समुहले सामुहिकरुपमा व्यवसाय सञ्चालन गर्नु पर्ने प्रावधान छ । यसरी लगानी गरिएको ऋण ६÷६ महिनामा किस्ता बुझाई ५ बर्षमा विना व्याँज सहकारी मार्फत नै फर्काउने प्रावधान राखिएको अध्यक्ष पोखरेलले बताए ।
तोकिएको समयमा फर्काउन नसके सहकारीले सहकारीको नीति नियमअनुसार असुल गर्नेछ । समितिले पहिलो बर्ष दुग्द डेरी, कुखुरा र बाख्रापालनमा लगानी गर्ने भएको छ । ऋण पाउनेहरुमा क्षेत्रनं १ बाट डेरी व्यवसाय सञ्चालन गर्न बेलका नगरपालिकास्थित सप्तकोषी दुग्ध डेरी, क्षेत्रनं २ मा कुखुरा पालनका लागि दिगो विकास युवा समुह त्रियुगा नगरपालिका ४ र क्षेत्रनं ३ मा बाख्रापालनका लागि एकता परिपक्क युवा समुहमार्फत उन्नतशिल समुह वर्रेलाई सहयोग गरिएको पोखरेलले जानकारी दिए ।
राष्ट्रिय युवा परिषदले युवालाई उद्येमी बनाउन नेपाल सरकारको स्वीकृती र अनुदान लिई जिल्ला समितिमार्फत प्रस्तावना आह्वान गरेको थियो । सोही आधारमा जिल्लाले समुह प्रस्तावना छनौट गरी परिषदमा पठाएको अध्यक्ष पोखरेलले बताए । परिषदले उक्त रकम समुहलाई सिधै उपलब्ध गराउन नमिलेपछि नेफ्स्कुल वित्तिय संस्थासँग सम्झौता गरी नेफ्स्कुलसँग जिल्लामा आबद्ध उदयपुर कल्याणकारिणी वचत तथा ऋण सहकारी संस्थामार्फत रकम वितरण गरेको हो ।
उपलब्ध रकम हिनामिना गर्न नदिन र उद्यमशिलताको क्षेत्रमा खर्च भए नभएको बारेमा नियमित अनुगमन गरिने अध्यक्ष पोखरेलले बताए । रकम प्राप्त गरेसँगै उन्नतशिल समुहका अध्यक्ष भेषराज कटुवालले रकम दुरुपयोग हुन नदिने बताए ।
स्वदेशमै केहि गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नपनि उक्त रकमलाई प्रस्तावनाअनुसार लगानी गर्ने प्रतिवद्धता व्यक्त गरे । उपलब्ध गराईएको रकमले युवाहरुको जीविकोपार्जन, रोजगारमा टेवा पुग्ने सहकारी संस्थाका अध्यक्ष कृपाराम चौधरीले बताए ।