उदयपुर – उदयपुरको त्रियुगा नगरपालिकालाई लैङिक हिंसा मुक्त नगर बनाउन जननिर्वाचित प्रतिनिधिहरु सकारात्मक देखिएकाछन् । महिला तथा बालबालिकाको कार्यालयले सदरमुकाम गाईघाटमा आयोजना गरेको नवनिर्वाचित पदाधिकारीहरुका लागि लैङिक हिंसा न्युनिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रममा जनप्रतिनिधिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
उनीहरुले लिङकै आधारमा हुने हिंसाकाकारण समाज परिवर्तननर्फ अगाडी नबढेको निष्कर्ष निकाल्दै समयमै यस्ता गतिबिधि रोक्न आफुहरुको ध्यान केन्द्रित हुने बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख बलदेव चौधरीले बिधी कमजोर हुँदा हिंसाका घटना बढेको भन्दै बिधीलाई मजवुद बनाउदै लैजानु पर्नेमा उनको जोड रहेको थियो ।
‘बनेको संबिधान कार्यान्वयन नहुनु, भएकामा पनि कमजोरी हुनु पीडितले न्याय नपाउनु हो,’ उनले भने, ‘संबिधान कार्यान्वय सँगै बिधीलाई परिमार्जन गर्दै लैजानु पर्छ तव मात्र हिंसाका घटनामा कमि आउँछन् ।’ चौधरीले चेलीबेटी वेचबिखन गर्नेहरुको जवसम्म जरो मास्न सकिन्न तबसम्म यस्ता घटना न्युनिकरण नहुने बताए । राजनीतिक प्रसयकै कारण चेलीबेटी वेचबिखन गर्नेहरु सलवलाई रहेको उनको भनाई थियो ।
त्यसैगरी उप्रमुख देवीकुमारी चौधरीले महिला र पुरुषविच सामान्य असमझदारी बन्दा हिंसाका घटना बढेको बताए । उनले आफु नगरपालिकाको न्यायिक निकायको प्रमुख पनि भएकाले आगामी दिनमा यस्ता घटना घटाउने जो कोहिलाई राजनीतिक आश्था भन्दा माथि उठेर कारवाही गर्ने बताए ।
कार्यक्रममा सहभागिहरुले जिल्लामा बढ्दै गएको हिंसाको जर्जर अबश्थाको बारेमा जनप्रतिनिधिलाई जानकारी गराउँदै न्युनिकरणका प्रयासहरु थालनी गर्न सुझाब दिए । उनीहरुले समाज रुपान्तरणको पक्षमा अगाडी बढिरहेको बेला हुने यस्ता घटनाले अझ महिलाहरु प्रताडित हुनु परेको प्रति दुःख व्यक्त गरे ।
सोही अवसरमा महिला विकास कार्यालयका प्रमुख निर्मला कार्कीले नवनिर्वाचित प्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गर्दै आगामी दिनमा महिला हिंसा मुक्त जिल्ला वनाउन सबैको साथसहयोग आबश्यक रहेको बताए । उनले लैङिक हिंसा सम्बन्धी जिल्लाको अबश्थाको बारेमासमेत आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।