बेपत्ता हात्तिमारा खोलाको खोजीमा नागरिक सडकमा, सरकारलाई आन्दोलनको चेतावनी


उदयपुर। उदयपुरको सदरमुकाम गाईघाटस्थित हात्तिमारा खोलाको सरकारी सार्वजनिक जग्गा अतिक्रमण गरी बिक्री–वितरण गरिएको दाबी गर्दै नागरिकहरूले तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

हात्तिमारा खोला संरक्षण अभियानको आयोजनामा शनिबार गाईघाट मुख्यचोकमा आयोजित नागरिक प्रदर्शनीमा सहभागीहरूले सार्वजनिक सम्पत्तिको संरक्षण र अतिक्रमणमा संलग्न व्यक्तिमाथि कानुनी कारबाहीको माग गरेका हुन् । प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न प्लेकार्ड बोकेर सरकारलाई तत्काल अनुसन्धान अघि बढाउन दबाब दिएका थिए ।

अभियानका संयोजक खेमनारायण यादवले २०६४ सालदेखि भुमाफिया र जग्गा दलालहरूले सरकारी निकायसँगको मिलेमतोमा हात्तिमारा खोलाको करिब ५५ बिघा सार्वजनिक क्षेत्र अतिक्रमण गरी खोलालाई पुरेर जग्गा बिक्री गरेको आरोप लगाए । उनका अनुसार खोलाको केही भागमा अहिले बस्ती तथा विभिन्न संरचना निर्माण भइसकेका छन् भने बाँकी क्षेत्र पनि अतिक्रमणको चपेटामा परेको छ ।

यादवले स्थानीय नागरिकहरूले यसअघि पनि नगरपालिका, मालपोत, नापी र जिल्ला प्रशासन कार्यालयमा पटक–पटक उजुरी दिँदा समेत कुनै प्रभावकारी छानबिन नभएको गुनासो गरे । सार्वजनिक सम्पत्ति कसरी निजीकरण भयो भन्ने विषयमा सरकारले सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनको भनाइ छ । अभियानले अतिक्रमणमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन, पीडित बनेका जग्गा खरिदकर्तालाई न्याय दिलाउन तथा सरकारी सार्वजनिक जग्गा पुनः संरक्षण गर्न माग गरेको छ ।

युवा अभियन्ता निमेश राईले सरकारी निकायले बेवास्ता गरे नागरिक आन्दोलन थप सशक्त बनाइने चेतावनी दिए । उनले बेपत्ता पारिएको भनिएको हात्तिमारा खोला र अतिक्रमित सार्वजनिक जग्गाको वास्तविक अवस्था सार्वजनिक नभएसम्म अभियान जारी रहने बताए ।

अभियानका अनुसार सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले गरिएको प्रदर्शनीमा स्थानीय नागरिकहरूको स्वतःस्फूर्त सहभागिता रहेको थियो । सहभागीहरूले सार्वजनिक सम्पत्तिको संरक्षणमा राज्य जिम्मेवार बन्नुपर्ने र घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

Facebook Comments Box