त्रियुगा १६ द्धारा वर्षापछि क्षतिग्रस्त खानेपानी योजना मर्मतका लागि पाइप वितरण


त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिका–१६ जाल्पाचिलाउनेले वर्षा तथा विपद्का कारण क्षति पुगेका वडाभित्रका विभिन्न खानेपानी योजनाको मर्मत–सुधारका लागि खानेपानी पाइप वितरण गरेको छ । वडाध्यक्ष मानबहादुर राईका अनुसार स्थानीय उपभोक्ताको माग र आवश्यकतालाई मध्यनजर गर्दै नेवारे, शाहीखोला गैरीटोल–भालुखोला, माथिल्लो बेङ्ग्री तथा सिम्ले पाखाटोल खानेपानी योजनामा आवश्यक पाइप उपलब्ध गराइएको हो ।

वडा कार्यालयका अनुसार नेवारे खानेपानी योजनाको मर्मतका लागि २० एमएमको ३०० मिटर पाइप, शाहीखोला गैरीटोल–भालुखोला खानेपानी योजनाका लागि ३२ एमएमको १५० मिटर र २५ एमएमको २०० मिटर पाइप, माथिल्लो बेङ्ग्री खानेपानी योजनाका लागि ३२ एमएमको ५० मिटर तथा सिम्ले पाखाटोल खानेपानी योजनाका लागि २५ एमएमको २०० मिटर पाइप वितरण गरिएको छ ।

वडाध्यक्ष राईले स्थानीय उपभोक्ताको सहभागितामा ती खानेपानी योजनाको मर्मत–सुधार कार्य सम्पन्न गरिने बताए। मर्मतपछि वर्षाका कारण अवरुद्ध बनेको खानेपानी सेवा पुनः नियमित भई स्थानीयबासीले सहज रूपमा स्वच्छ र सुरक्षित पिउने पानी उपभोग गर्न पाउने विश्वास व्यक्त गर्दै उनले आवश्यक पाइप उपलब्ध गराएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयप्रति वडा कार्यालयको तर्फबाट विशेष धन्यवाद ज्ञापन गरे ।

एक उपभोक्ता नानु मगरले वर्षापछि खानेपानी आपूर्तिमा समस्या भोग्नुपरेको अवस्थामा वडा कार्यालयले समयमै आवश्यक पाइप उपलब्ध गराएर ठूलो राहत दिएको बताइन् । उनले मर्मत कार्यसँगै खानेपानी सेवामा सुधार भएको भन्दै खुसी व्यक्त गरिन् । “पहिले वर्षाका कारण पानीको आपूर्ति प्रभावित भएको थियो । अहिले पाइप उपलब्ध भएपछि मर्मत कार्य अघि बढेको छ । अब नियमित रूपमा स्वच्छ खानेपानी पाउन सकिने अपेक्षा गरेका छौँ,” उनले भनिन् ।

स्थानीयका अनुसार वितरण गरिएको पाइपले प्रभावित खानेपानी योजनाको मर्मत कार्यलाई तीव्रता दिने तथा वडाका विभिन्न बस्तीमा खानेपानी सेवा पुनः सहज बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Facebook Comments Box